एजेन्सी – युरोकपका लागि जर्मनीको राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। आउने केहि हप्तामै शुरु हुन लागेको युरोकपका लागि प्रशिक्षक जोचिम लोले जर्मनीको राष्ट्रिय फुटबल टोलीको घोषणा गरेका हुन्।
घोषणा भएको टोलीमा मिडफिल्डर थोमस मुलर र डिफेन्डर म्याट हमेल्स पनि परेका छन्। दुवै दुई वर्षपछि राष्ट्रिय टोलीमा ठाउँ बनाएका हुन्। क्लब स्तरमा लगातार राम्रो प्रदर्शन पश्चात दुवैको राष्ट्रिय टोलीमा पुनरागमन भएको छ।
राष्ट्रिय टोलीको गोलरक्षकमा बर्न्ड लेनो, म्यानुयल नुएर र केभिन ट्रयाप परेका छन् भने डिफेन्डरमा म्याथियस जिन्टर, रोविन गोसिन्स, क्रिस्टियन गन्टर, मार्सेल होल्सटेनबर्ग, म्याट हमेल्स, लुकास क्लोस्टरमान, रोविन कोच, एन्टोनियो रुडिगर र निकलस सुल परेका छन्।
त्यस्तै इम्री क्यान, सर्ज जिनाब्री, लियोन गोरेट्जका, इल्केए गुन्डोगान, काई हाभर्टज, जोनास होफमन, योसुवा किम्मिख, टोनी क्रुस, थोमस मुलर, जमाल मुसिएला, फ्लोरिएन नेउहस, लिरोए साने, टिमो वेर्नर र केभिन भोलान्डको नाम मिडफिल्डर र फरवार्डमा समावेश भएको छ।

