कोरोनाको नयाँ भेरियन्ट तिब्र संक्रामक, असारमा झनै उग्र रुप लिने !

काठमाडौं । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोभिड – १९ को तेस्रो भेरियन्ट निकै संक्रामक रहेको बताएको छ । नेपालमा गतहप्ता कोभिड १९ संक्रमितको ३५ वटा नमुनालाई जिन स्क्विन्सिग गर्दा ९७ प्रतिशतमा (३४ वटा) बि. १. ६१७.२ नयाँ भेरियन्ट र तीन प्रतिशतमा(१ वटा) बि.१. ६१७. १ पुष्टि भएसँगै नेपालमा कोभिड १९ को तेस्रो भेरियन्ट रहेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि मंगलबार एक विज्ञप्ति निकाल्दै नेपालमा तेस्रो भेरियन्ट रहेको बारे जानकारी गराइसकेको छ । यस सन्दर्भमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तेस्रो भेरियन्ट यस अघि देखा परेको भेरियन्ट भन्दा ५० प्रतिशत बढी संक्रामक रहको बताएका छन् ।

बुधबार पत्रकारहरुसँग कुरा गर्दै इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्ण पौडेलले शुरुमा बेलायतमा पत्ता लागेको भेरियन्ट भन्दा यो भेरियन्ट ४० देखि ५० प्रतिशत बढी संक्रामक रहेको बताए । यो भेरियन्ट २० देखि ४४ वर्ष उमेर समुहमा उच्च संक्रमण रहेको पनि उनले जानकारी दिऐ । उनले भने,‘प्रारम्भिक अध्ययनहरुले यो सर्ने दर अन्य भेरियन्टभन्दा उच्च छ भन्ने देखियो । जुन अप्रत्यक्ष रुपमा नेपालमा संक्रमण बढेको दर, भारतमा बढेको दरले पनि अप्रत्यक्ष रुपमा हामि एउटा निष्कर्षमा पुग्न सक्छौँ यो अलि बढी संक्रामक छ भनेर । केही अध्ययनहरुमा, बेलायतको मेडिकल जर्नलमा ब्लगमा उहाँहरुले लेखेको अनुसार बेलायतमा पत्ता लागेको भेरियन्टभन्दा यो भेरियन्ट अझै ४० देखि ५० प्रतिशत बढी संक्रामक छ है भनेर आँकलन गरिएको छ ।’

डा. पौडेलले हाल कोभिड विरुद्धमा लगाइरहेको कोभिशिल्ड खोपले तुलनात्मक रुपमा यस भेरियन्टको जटिलता कम गर्न र मृत्यूदर कम गराउन प्रभावकारी हुने पनि बताए । उनले भने,‘तुलनात्मक हिसाबले यो भेरियन्टमा पनि जटिलता कम गर्न र मृत्यूदर कम गराउन सहयोगी÷प्रभावकारी छ भन्ने बुझिन्छ । खोपको प्रभावकारीता राम्रै देखिएको छ ।’ उनले सामाजिक दुरी कायम गर्ने, मास्कको प्रयोग गर्ने तथा सरसफाई लगायतका जनस्वास्थ्यको मापदण्ड पालना गरेर मात्रै कोभिड १९ को तेस्रो भेरियन्टबाट बच्न सकिने भन्दै जनस्वास्थ्यको मापदण्ड कडाईका साथ पालना गर्नुपर्ने पनि बताए ।

जेठ र असारमा अझै बढ्ने
सरकारले जेठ महिनामा नयाँ संक्रमितको संख्या बढ्ने प्रक्षेपण गरेको छ । मन्त्रालयका अनुसार १ लाख ७ हजार बढी नयाँ संक्रमित थपिने छन् । जसमध्ये अक्सिजन, हाइडिपेन्डेन्सी युनिट, आइसीयू र भेन्टिलेटरमा गर्ने बिरामी थपिने सरकारको आंकलन छ । संक्रमितमध्ये ८० हजार ६ सय जनाको सामान्य अवस्था रहने छ । नेपालमा गत हप्ता अक्सिजनको चरम अभाव भयो । अक्सिजनको अभावको हल्ला बजारमा चल्न थालेपछि केही पहुँचवालाले व्यक्तिले स्टक राख्नाले अस्पतालमा अक्सिजनको हाहाकार भएको कोभिड उपचारमा संलग्न चिकित्सकहरुले आरोपसमेत लगाएका थिए । जसले गर्दा धेरै कोभिड बिरामीले समयमै अक्सिजन नपाउँदा मृत्युसमेत भयो । अक्सिजनकै अभावमा कति संक्रमतिको ज्यान गयो भन्ने तथ्याङ्क चाहिँ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छैन ।

कोरोना संक्रमितमध्ये सामान्य अवस्थाका १० प्रतिशत संक्रमितलाई अक्सिजन चाहिन्छ । यस्तै जटिल अवस्थामा पुगेमा ७ प्रतिशत संक्रमित अक्सिजनको आवश्यकता पर्छ । र ३ प्रतिशत संक्रमितलाई आइसीयू र भेन्टिलेटर आवश्यक पर्ने स्वास्थ्य मन्त्रालयको अनुमान छ । अहिले पनि अक्सिजन, हाइ डिपेन्डेन्सी युनिट, आइसीयू र भेन्टिलेटरमा उपचार गर्नुपर्ने बिरामीको बढ्दै गइरहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारसम्म १ हजार ५ सय ९० आईसीयू र ३९० जना भेन्टिलेटरमा उपचाररत छन् । संक्रमित संख्या बढेसँगै जेठ र असार महिनासम्म जटिल केस थप बढ्ने स्वास्थ्य मन्त्रालयले आँकलन गरेको छ । त्यसका लागि जेठमा १ लाख ९० हजार र असार महिनामा २ लाख ३३ हजार सिलिन्डर चाहिने आँकलन गरिएको छ ।

यसरी अक्सिजनको माग बढ्दै गएपनि सरकारलाई दैनिक ६ हजार सिलिन्डर अक्सिजनको आपूर्ति गर्न हम्मेहम्मे भइरहेको छ । यी दुवै महिनामा गरि २८ करोड ७५ लाख ६ हजार ८३७ लिटर अक्सिजन आवश्यक पर्ने सरकारको अनुमान छ । तर, संक्रमित बिरामीलाई आवश्यकताको आधार सहज रुपमा उपलब्ध गराउन सकेको छैन ।

अक्सिजन अभाव भइरहेकै बेला देशभर १ लाख ११ हजार ३ सय ६४ सिलिन्डरभन्दा बढि रहेको सरकारले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उपत्यकाभित्रका १० उद्योग र बाहिर १९ उद्योगमा ठूलो ७२ हजार २ सय ५० र सानो ३९ हजार १ सय १४ सिलिन्डर रहेको छ । तर, कोभिड बिरामीले आवश्यकताको आधारमा सहजरुपमा अक्सिजन पाउन सकिरहेका छैनन् ।

प्रकाशित : बिहिबार, जेठ ०६, २०७८०९:२५

बेकार बन्दै संसद !