“मेस्सीले फुटबल मैदानमा जे गर्छन् अरुले भिडियो गेम खेल्दा पनि गर्न सक्दैनन्”

बार्सिलोनाका पूर्व मिडफिल्डर इभान राकिटिकले आफ्ना पूर्व कप्तान लियोनल मेस्सीले वास्वविक जीवनमा खेल्ने खेल अरुले भिडियो गेममा पनि खेल्न नसक्ने बताएका छन्। खेलको उच्च स्तरमा मेस्सीको निरन्तरता र फुटबल मैदानमा मेस्सीको क्षमता कुनै साधारण नरहेको राकिटिक बताउँछन्।

२०१४ मा बार्सिलोनासँग अनुबन्ध भएका राकिटिकले २०२० मा फेरी सेभिल्ला फर्कनु अघि ६ वर्ष मेस्सीसँग क्याम्प नाउमा बिताए। गोलसँगको एक अन्तर्वार्तामा बोल्दै पूर्व क्रोएसियाली मिडफिल्डरले बार्सिलोनामा मेस्सीसँग बिताएको समय र क्लबमा मेस्सीको भविष्य बारे कुरा गरेका छन्। उनले मेस्सीसँग आफूले ६ वर्ष सँगै खेल्न पाएकोमा निकै गर्व रहेको बताएका छन्। यसका साथै उनले आफूले बार्सिलोनामा थुप्रै महान् खेलाडीसँग खेल्न पाउनु विशेष रहेको बताए।

मेस्सीको बारेमा बोल्दै उनले भने,”जब म मेस्सीलाई हेर्छु जसले ९ सिजन ३० भन्दा धेरै गोल गरेको छ, भिडियो गेम जस्तै लाग्छ। यदि तपाईंले यो काम प्ले-स्टेशनमा गर्नु भयो भने पनि सोच्नुहुन्छ कि मलाई सबै कुरा आउँछ। तर मेस्सीले त्यो भन्दा उत्कृष्ट खेल वास्वविकतामै खेल्दै आएका छन्। हामीले यसको सम्मान गर्नै पर्छ।”

कुनै पनि फुटबल खेलाडीको सपना भनेको एक उत्कृष्ट टोलीमा उत्कृष्ट खेलाडीका साथ खेल्नु हुने र अझ फुटबलकै सर्वोत्कृष्ट खेलाडीसँग खेल्न पाउनु भनेको अझै राम्रो हुने र आफूले मेस्सीसँग धेरै कुरा सिक्न पाएकोमा उनी निकै खुसी छन्।

त्यस्तै, बार्सिलोनामा मेस्सीको भविष्यको बारेमा बोल्दै उनले आफूले ६ पटकका ब्यालुन डी ओर विजेता बार्सिलोनामै रहून्, स्पेनमै रहून् भन्ने आशा गरेको बताए। ३३ वर्षीय मिडफिल्डरले बार्सिलोनाका लागि ६ वर्षको समयमा २०० खेल खेलेका छन्।

प्रकाशित : बिहिबार, जेठ ०६, २०७८१६:१८

क्रिस्टियानो रोनाल्डोले बनाए अर्को कीर्तिमान