काठमाडौँ – राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डा खिमलाल देवकोटा विजयी भएका छन् । आज भएको मतदानमा नेकपा(एमाले)का रामबहादुर थापालाई पछि पार्दै देवकोटा विजयी भएका हुन् ।
डा देवकोटाले पाँच हजार ८८ र नेकपा (एमाले)का रामबहादुर थापाले चार हजार १४ मतभार प्राप्त गरेका छन् । त्यस्तै नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङले १३२ मतभार प्राप्त गर्नुभएको निर्वाचन आयोग स्रोतले जनाएको छ ।
देवकोटाको पक्षमा विपक्षी नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको असन्तुष्टपक्षले मतदान गरेको बुझिएको छ भने बादललाई एमाले सहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सदस्यहरुको साथ थियो ।
बादलविरुद्ध मतदान गर्नु गम्भीर
एमालेले पार्टी उम्मेदवारको विपक्षमा मत दिनुलाई गम्भिरतापूर्वक लिएको जनाएको छ। एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले एक विज्ञप्ति जारी गर्दै पार्टी उम्मेदवारको विपक्षमा मत दिनुलाई गम्भिरतापूर्वक लिएको बताएका हुन्।
बिहीबार बसेको स्थायी कमिटी बैठकले पार्टीको निर्देशनविपरीत आधिकारिक उम्मेदवारविरुद्ध मतदान गर्ने र पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्तिलाई अत्यन्त गम्भीरताका साथ लिँदै भत्र्सना गरेको प्रवक्ता प्रदीप ज्ञवालीको भनाई छ।

