आगामी ३ दिनको मौसम कस्तो रहला, मौसम तत्काल सुध्रिने सम्भावना छ कि छैन ? यसो भन्छन् मौसमविद् !

काठमाडौं– केही दिनअघि पूर्वमध्ये अरब सागरबाट विकसित शक्तिशाली समुद्री आँधी ‘ताउ–ते’ को प्रभाव विस्तारै कमजोर हुँदै गए पनि नेपाललगायत विभिन्न मुलुकमा यसको असर कायमै छ।

‘ताउ–ते’को प्रभावले आज पनि ठाउँठाउँमा वर्षा भइसकेको छ। करिब–करिब मुलुकभरको मौसममा बदली आएको छ। जल तथा मौसम विज्ञान विभाग हावापानी केन्द्रका मौसमविद् समिर श्रेष्ठले पछिल्लो एक घण्टादेखि मुलुकका अधिकांश भागमा पानी परिरहे पनि भारी वर्षा भने नरहेको जानकारी दिए।

यद्यपि गए राति र बिहान भने नेपालको पश्चिमी क्षेत्रका केही भागमा भारी वर्षा भएको उनले बताए। सबैभन्दा बढी लुम्बिनीमा ७८ मिलीमिटर पानी परेको छ। त्यसपछि डडेलधुरामा ७१, कञ्चनपुरको शान्तिपुरमा ५५, बैतडीमा ५१ मिलीमिटर पानी परेको छ।

“अहिले भारी वर्षा त छैन तर बदली कायमै रहेकाले सामान्य वर्षा जारी नै छ, साँझ केही ठाउँमा भारी वर्षाको सम्भावना पनि छ, भोलि (शुक्रबार) बाट केही खुल्दै जानसक्छ”, श्रेष्ठले भने। उनका अनुसार ताउतेको प्रभाव पनि कमजोर बन्दै गएको र नेपालमा त्यसको असर पनि कम परेको छ।

विभागका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली छ। काठमाडौँ उपत्यकामा पनि बुधबार साँझदेखि नै सिमसिम पानी परेको थियो। यो क्रम आज बिहानसम्म कायम रहेको तर अहिले केही खुले पनि पानी रोकिएको छैन। आज प्रदेश नं १, गण्डकी प्रदेश र वाग्मती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा उच्च हिमाली भू–भागका केही स्थानमा भारी हिमपात/वर्षा हुने अनुमान छ।

विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कर्णाली प्रदेश, सुदूर-पश्चिम प्रदेश, लुम्विनी प्रदेश, वाग्मती प्रदेश र प्रदेश न २ का एक/दुइ स्थानहरुमा मध्यम देखि भारी वर्षाको सम्भावना रहेको छ।

शुक्रबार दिउँसो देशका धेरैजसो भू–भागमा आंशिकदेखि सामान्य बदली हुने र थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। सुदूर-पश्चिम प्रदेश र प्रदेश न १ का एक/दुइ स्थानहरुमा मध्यम देखि भारी वर्षाको पनि सम्भावना रहेको बताइएको छ।

कस्तो रहला आगामी तीन दिनको मौसम?

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ जेठ ६ गते (बिहिबार)

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, सुदूर-पश्चिम प्रदेश, लुम्विनी प्रदेश, वाग्मती प्रदेश र प्रदेश न २ का एक/दुइ स्थानहरुमा मध्यम देखि भारी वर्षाको पनि सम्भावना रहेको छ भने उच्च हिमाली भू-भागका धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ।

२०७८ जेठ ७ गते (शुक्रबार)

दिउँसो: देशका धेरैजसो भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूर-पश्चिम प्रदेश र प्रदेश न १ का एक/दुइ स्थानहरुमा मध्यम देखि भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राती: प्रदेश १ लगायत देशका बाँकी पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली र अन्य भू-भागमा सामान्यतय सफा रहनेछ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७८ जेठ ८ गते (शनिबार)

दिउँसो: प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली र अन्य पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकि प्रदेशका पहाडी भू-भागमा आंशिक वदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित : बिहिबार, जेठ ०६, २०७८१९:४४

गगनलाई महेश बस्नेतको काउन्टर – ‘महाभियोग लगाउने गंजेडिका गफ हुन्’