एजेन्सी – क्रोएशियालि मिडफील्डर इभान राकिटिकले बार्सिलोनाका कप्तान लियोनेल मेस्सीको जस्तो क्षमता विरलै देख्न पाइने बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा राकिटिकले मेस्सीमा जस्तो स्थिरता कुनै पनि खेलाडीमा विरलै देख्न पाइने बताएका हुन्।
राकिटिकले टिम-साथीका रूपमा बार्सिलोनामा मेस्सी सँग ६ सिजन खेलका थिए। त्यसक्रममा उनले लालिगा, च्याम्पियन्स लिग देखि कोपा डेल रे जस्ता उपाधिहरु जितेका थिए।
खेल मिडिया ‘गोल’सँग कुराकानी गर्नेक्रममा राकिटिकले मेस्सीको टिममेट बन्दाको क्षणहरु स्मरण गरे। उनलाई मेस्सी एक भिडियो गेमको क्यारेक्टर जस्तै लाग्छ, जो लगातार स्थिर खेल प्रदर्शन गर्न सक्छन्। मेस्सीको जस्तो स्थिरता र क्षमता भिडियो गेममा मात्र देख्न पाइने उनको भनाई छ।
“एक खेलाडी जहिले पनि राम्रो खेलाडीसँग प्रतिस्पर्धा गर्न र सँगै रहेर रमाइलो गर्न चाहन्छ। जब ती सबै मध्येका सर्वश्रेष्ठ हुन्छन्, त्यो अझ राम्रो र अविस्मरणीय हुन्छ”,मेस्सीसँग बिताएका ६ सिजन स्मरण गर्दे उनले भने,”ती ६ वर्ष साँचै नै अविश्वसनीय थिए। त्यसबखत मैले धेरै कुरा सिक्ने मौका पाएँ।”
जारी सिजनमा उत्कृष्ट प्रदर्शन गरेर ३० लालिगा गोल गरेका मेस्सी वास्तवमै अविश्वसनीय खेलाडी रहेको उनको भनाई छ। उनले भने,”९ सिजन ३० गोल गर्ने मेस्सी देख्दा भिडियो गेम जस्तै लाग्छ।”
मेस्सीको जस्तो प्रदर्शन प्लेस्टेसनको भिडियो गेममा समेत गर्न गार्हो रहेको राकिटिकले दावी गरे। साथै राकिटिकले मेस्सीसँग ६ वर्ष बिताउन पाउनु गर्वको कुरा रहेको पनि बताए।
“मलाई गर्व छ कि मैले मेस्सीसँग त्यत्रो वर्ष बिताउन पाएँ, धेरै उपाधिका लागि सहकर्मी भएर लड्ने मौका पाएँ र मेस्सीसँगै रहेर धेरै उपाधिहरु जितें।”,उनले भने।

