काठमाडौँ – राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा पराजित भएपछि सत्तारुढ एमालेको विवाद उत्कर्षमा पुगेको छ। उपनिर्वाचनमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट उम्मेदवार भएका थापा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहसहित विपक्षी गठबन्धनका उम्मेदवार खिमलाल देवकोटासँग पराजित भए। थापा पराजित हुनुको दोष ओली पक्षले नेपाल समूहलाई लगाएको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।
एमाले विवाद समाधान कार्यदलको मंगलबार बसेको पहिलो बैठकले पार्टीभित्र असहयोग, अविश्वास र अन्तरविरोध सिर्जना हुने कामबाट अलग रहन पार्टी पंक्तिलाई आग्रह गरेको थियो। तर बिहीबार भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा कार्यदलको आग्रहविपरीत काम भएको भन्दै ओली पक्षका नेताले यसमा नेपाल समूह दोषी भएको बताएका छन्। यसबाट आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। कार्यदलको अर्को बैठक शुक्रबार बस्ने भनिएको छ। कार्यदलले बुधबार र बिहीबार पनि बैठक बस्ने भने पनि त्यस्तो हुन सकेन।
नेपाल पक्षले २०७५ जेठ २ को विन्दुबाट पार्टी संगठन अघि बढाउने सहमति भएको र त्यतिबेलाको कार्यसमितिले नचिनेका थापालाई उम्मेदवार बनाउने विषय नै गलत भएको बताएको छ। ‘हामीले सुरुदेखि नै पार्टीलाई २०७५ जेठ २ को अवस्थाबाट अघि बढाउने र त्यही सेरोफेरोमा रहेर विवाद समाधान गर्ने भनेका छौं। त्यसकारण एमालेको कार्य समितिले रामबहादुर थापालाई चिन्दैन’, नेपाल निकट एक नेताले भने।
कार्यदलका केही सदस्य राष्ट्रिय सभा सदस्य उपनिर्वाचन र नतिजाले पार्टी एकतामा कुनै फरक नपर्ने बताउछन्। तर ओली पक्षका केही नेताले कार्यदलको औचित्य सकिएको, नेपाल समूहले पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी हराएको र यो क्षम्य हुने विषय नभएको बताएका छन्।
पार्टी महासचिव ईश्वर पोखरेलले अन्तर्घात क्षम्य नहुने बताएका छन्। ‘एकातिर कार्यदल बनाएर कुनै अन्तरविरोध नबढाउने र आचारसंहितामा ध्यान दिने भनिएको छ। अर्कोतिर खुलेआम विपक्षीहरूसँग मिलेर पार्टीको एउटा पक्षले आधिकारिक उम्मेदवारको विपक्षमा गतिविधि गरेको छ, पार्टीभित्र यस्तो अराजक गतिविधि सह्य हुँदैन। यो अत्यन्तै गम्भीर र भत्र्सनायोग्य छ’, उनले भनेका छन्।
यसअघि पार्टी विभाजन रोक्न ओली र नेपाललाई वार्तामा ल्याएका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले पनि विवाद उत्कर्षमा पुगेको संकेत गरेका छन्। उनले अब पार्टीलाई नयाँ आधारका साथ अगाडि बढाउनुपर्ने धारणा राखेका छन्। ‘दूध खुवाएर पालेका सर्पले डसेका हुन्। विपक्षीसँग कुनै गुनासो छैन, समयको अन्त्य हैन नयाँ सुरुआत मात्र हो’, बाँस्कोटाले भने। उनको यो भनाइले पनि एमाले विभाजनउन्मुख भएको संकेत गरेको छ।
नेपाल समूह छाडेर हालै ओली समूहमा प्रवेश गरेका केन्द्रीय सदस्य विष्णु रिजालले भने एकता प्रक्रिया छिटो टुंग्याउनुपर्ने बताएका छन्। उनले कार्यदलको बैठकसमेत प्रभावित भएकाले पार्टी एकता प्रक्रिया बिथोलिने संकेत गर्दै चाडै नै कार्यदलको बैठक बस्नुपर्ने धारणा राखेका छन्। ‘राष्ट्रिय सभामा एक सिट एमालेका लागि ठूलो होइन। तर, बन्न लागेको एकताको वातावरण यही घटनाले बिथोलिने खतरा बढेको छ। कार्यदल प्रभावित भएको छ। नेता–कार्यकर्तामा तिक्तता थपिएको छ। देश चुनावतिर सोभिँदै गर्दा कासी जान कुतीको बाटो रोज्नुको साटो खुलस्त कुरा गरेर एकता छिटो टुंग्याउनुपर्छ’, रिजालले भने।
राष्ट्रिय सभाको उपनिर्वाचन परिणामतर्फ लक्षित गर्दै नेपाल पक्षका केन्द्रीय सदस्य राजेन्द्र राईले चित्त नबुझेको कुरा खुलस्त राख्न पाउनु नै लोकतन्त्र भएको टिप्पणी गरेका छन्। ‘विकास भएको लोकतान्त्रिक चेतः चित्त नबुझेमा, छोराले बाउलाई, विद्यार्थीले शिक्षकलाई, श्रीमतीले श्रीमान्लाई, कार्यकर्ताले नेतालाई, कामदारले मालिकलाई, सानोले ठूलालाई प्रश्न गर्न थालिएको छ र हरेक संस्था, पार्टी मात्र होइन, परिवारसमेत लुज फोरम जस्तो भएको छ। यस्तो अवस्थामा घर, समाज, देश, संघसंस्था, पार्टी कतै पनि निरंकुशता चल्दैन’, उनले भनेका छन्।

