बार्सिलोनाका कप्तान लियोनल मेस्सीले लालिगाको अन्तिम खेल शनिबार आइबार विरुद्ध हुने खेल गुमाउने भएका छन्। क्लबले मेस्सीलाई कोपा अमेरिका अघि केहि समयको लागि ब्रेक दिने अनुमति दिएसँगै मेस्सीले आइबार विरुद्धको खेल नखेल्ने भएका हुन्।

३३ वर्षीय मेस्सी शुक्रबारको प्रशिक्षण सत्रमा पनि उपस्थित थिएनन्। यसअघि मिडफिल्डर पेड्रीलाई पनि सिजनको अन्तिम खेलअघि नै क्लबले ब्रेक दिएको थियो। यस सिजन १८ वर्षीय पेड्रीले बार्सिलोनाको लागि महत्वपूर्ण भूमिका निभाएका थिए। उनको वोर्क-लोड व्यवस्थापन गर्नको लागि क्लबले उनलाई ब्रेक दिएको बताइएको छ।
LATEST NEWS | Leo #Messi is not training today with the coach's permission and will not play against Eibar pic.twitter.com/ak3F5W527x
— FC Barcelona (@FCBarcelona) May 21, 2021
मेस्सीको बिदा बारे बार्सिलोनाले आधिकारिक रूपमा स्टेटमेन्ट निकाल्दै भनेको छ,”प्रशिक्षकको अनुमतिका साथ लियोनल मेस्सी शुक्रबारको प्रशिक्षणमा उपस्थित छैनन् र उनी आइबार विरुद्धको खेलको स्क्वाडमा पनि हुने छैनन्। यस सिजन क्लबका लागि सबैभन्दा धेरै समय खेलेका खेलाडी मध्ये एक मेस्सीले आउँदै गरेको कोपा अमेरिकामा भाग लिनु अघि केहि आराम पाउन सक्छन्।”

अन्तिम खेल गुमाउने भएता पनि मेस्सीले यस वर्ष पनि ललिगामा उच्च गोलकर्ताको रूपमा सिजन समाप्ति गर्ने पक्का रहेको छ। उनले यस सिजन ३० गोल गरेका छन्। दोस्रो स्थानमा रहेका भिल्लारियलमा जेरार्ड मोरेनोले २३ गोल गरेका छन्।

