नेपालको कोरोना संकटको विषय बेलायतको उपल्लो सदनमा उठ्यो !

बेलायत –  बेलायतको हाउस अफ लर्ड अर्थात् उपल्लो सदनमा नेपालमा बढ्दै गईरहेको कोभिड–१९ सङ्क्रमण विरुद्धको लडाइँमा बेलायतको सहभागिता हुनुपर्ने बहसले प्रवेश पाएको छ । नियमित रूपमा बस्ने गरेको उपल्लो सदनको बिहीबारको छलफल नेपाललाई सहयोग गर्ने विषयमा केन्द्रित थियो । निकै छोटो चलेको बैठकमा नेपालले बेलायतका हरेक मोर्चामा सहयोग गरेको र हामीले हाल नेपालले भोगेको सङ्कटमा सहयोग गर्नुपर्ने वक्ताहरूको राय थियो ।

आफ्नो भनाइ राख्दै लर्ड ल्यान्कास्टर अफ किम्बोल्टनले नेपाललाई २० लाख खोप उपलब्ध गराउन अनुरोध गर्नु भएको थियो । नेपाल लगायत विकासोन्मुख राष्ट्रहरूलाई बेलायतले खोप उपलब्ध गराउन पहल गरी सकेको र नेपालका लागि करीब तीन लाख पचास हजार कोभ्यक्स छुट्टाई सकेको कुरा सदनलाई सरकारको तर्फबाट लर्ड अहमद अफ विम्बल्डनले जानकारी दिएका थिए ।

दुई दिन अगाडि मात्र नेपालका परराष्ट्रमन्त्रीसँग छलफल भएको र यहाँस्थिति नेपाली दूतावासका प्रतिनिधिसँग पनि छिट्टै भेटेर आफ्नो योजना राख्ने अहमदले सदनलाई बताए। बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले पनि यहाँका सम्बन्धित निकायमा निरन्तर रूपमा सम्वाद भईराखेको र सरकारत्मक प्रतिकृया आएको बताए।

केहि दिन अगाडि मात्र बेलायतकी चर्तित नायिका जुवाना लुम्लेलगायत यहाँ करीब पचास जना बेलायतीहरूले नेपाललाई खोप उपलब्ध गराउन यहाँको सरकारलाई पत्र लेखेर आग्रह गरेका थिइन्। यहाँका नेपाली सङ्घसंस्थाले संस्थागत रूपमै पिटिसनमार्फत एक्यवद्धता चलाएर दबाब दिन समाजसेवी रमेशराज पण्डितले अभियान नै सञ्चालन गरेका छन् ।

प्रकाशित : शनिबार, जेठ ०८, २०७८१९:२४

भारतमा बढ्दो सङ्क्रमण र यसका मुख्य कारकहरु