काठमाडौं : अघिल्लो वर्षको लकडाउनमा राजधानीमा तरकारीको मूल्य निकै घटेको थियो । सर्वसाधारणले यसपालि पनि त्यही सोचेका थिए । तर, भयो उल्टो । यसबीच उपभोक्ता ठग्न पल्किएका कालो बजारियाले यसपालि साबिकभन्दा बढाएका छन् । यो समाचार आजको अन्नपुर्णपोस्ट दैनिकमा प्रकाशित छ।
गाउँमा किसानले मूल्य पाएका छैनन् । तरकारी कुहेका र फालिएका छन् । कौडीका भाउमा उठाएर ल्याउने व्यापारीले सहरमा उपभोक्तालाई निचोरेर मूल्य लिइरहेका छन् । यसको वास्तविक अनुगमन भएको भने पाइएको छैन ।
खाद्यान्न र अन्य उपभोग्य वस्तुको हालत उस्तै छ । महामारीलाई दुरुपयोग गर्दै सबैजसो सामानको अस्वाभाविक र असामयिक मूल्य बढेको छ । बजारमा अहिले माग घटेको छ । यस्तो अवस्थामा मूल्य घट्नुपर्ने हो । तर, अत्यधिक नाफा खाने मोहमा झन् बढाइएको छ । यो छाडापनमा राज्य भने मौन बसेको छ । महामारीका कारण उत्पन्न संकटलाई मौकाको फाइदा उठाउँदै कार्टेलिङ र कालोबजारीका कारण मूल्य र गुणस्तरमा सर्वसाधारण ठगिनुका साथै महँगीको मारमा परेका हुन् ।
निषेधाज्ञापछि स्वास्थ्य उपचार, औषधि, दैनिक उपभोग्यका सामग्री खाद्यान्न, इन्धन, तरकारीलगायतमा चर्को मूल्यवृद्धि गरी आम उपभोक्तालाई सकेसम्म यस्ता समूहले उखु निचोरेजस्तै निचोरेका छन् । सरकारको कमजोर नीतिका कारण बजारमा यस्तो अवस्था सिर्जना भएको उपभोक्तावादीहरूले औंल्याएका छन् ।
स्वास्थ्य उपचारका लागि अस्पतालमा भर्ना हुने बिरामीबाट हजारौंदेखि लाखौं रुपैयाँसम्म स्वास्थ्य संस्थाले असुल गर्दै आएका छन् । नक्कली औषधिमा सक्कली औषधिको लेबल लगाएर बिक्री वितरण हुँदै आएको छ । औषधिको कृत्रिम अभाव सिर्जना गरी ५ हजार पर्नेलाई २५ हजारदेखि ५० हजार रुपैयाँसम्म असुल गर्ने क्रम रोकिएको छैन ।
यस्तै कालोबजारी र कार्टेलिङको अवस्था दैनिक उपभोग्य वस्तुतर्फ पनि सिर्जना भएको छ । कोभिडका कारण महामारी फैलिएर संकट निम्तिएको समयमा व्यापारीले मिलोमतो गरी दैनिक उपभोग्य वस्तुतर्फ ५ देखि २५ प्रतिशत मूल्यवृद्धि गरेका छन् । टोलटोलमा भएका स–साना खुद्रा पसलले आफूखुसी अतिरिक्त मूल्य थप गरी दैनिक उपभोग्य वस्तु बिक्री गरेका कारण संकटको समयमा आम उपभोक्ता ठगिएका छन् ।
महामारीका कारण अधिकांश सर्वसाधारणको आयस्रोत गुमेर कमजोर बनेको क्रयशक्तिकाबीच नेपालीको भान्छा यो मूल्यवृद्धिले निक्कै महँगिएको छ । पछिल्लो समयमा भान्छामा अत्याधिक प्रयोग हुने चामल, दाल, गेडागुडी, खानेतेल, चिनी, पेट्रोलियम पदार्थलगायतमा चर्को मूल्यवृद्धि भएको छ । यस्तै हरियो ताजा तरकारीको मूल्य पनि अचाक्ली रूपमा बढेको छ ।
खुद्रा व्यापार संघकाअनुसार ठूला व्यापारीले विभिन्न बहानामा प्रत्येक दैनिक उपभोग्य वस्तुमा न्यूनतम १० देखि २ सय रुपैयाँसम्म मूल्य वृद्धि गरेका छन् । यो मूल्य वृद्धिका कारण आम उपभोक्ता निक्कै मारमा परेका छन् । यस्तै हरियो तरकारीमा प्रतिकिलो १० देखि १५ रुपैयाँसम्म मूल्यवृद्धि गरिएको छ ।
पछिल्लो समयमा सबैभन्दा बढी खानेतेलको मूल्यमा अत्यधिक वृद्धि भएको छ । सनफ्लावर र तोरीको तेलमा एक सयदेखि २ सय रुपैयाँसम्म मूल्य थपिएको छ । खुद्रा व्यापार संघका उपाध्यक्ष रामकृष्ण मानन्धरका अनुसार अघिल्लो वर्षको साउनदेखि निरन्तर रूपमा खानेतेलको मूल्य बढेको बढ्यै छ । मानन्धरका अनुसार ठूला व्यापारीले निषेधाज्ञाका कारण सवारी साधनको अभाव, अवागमन असहज र ढुवानी खर्च वृद्धिका कारण यस्ता दैनिक उपभोग्य वस्तुको मूल्य अचाक्ली रूपमा बढेको हो । ठूला व्यापारीले निषेधाज्ञा लाग्नुअघि आपूर्ति गरेको दैनिक उपभोग्य वस्तुमा पनि मूल्य बढाएका छन् ।
।

