रोनाल्डो बने तीन लिगमा टप-स्कोरर बन्ने पहिलो खेलाडी, कसैले गर्न नसकेको काम रोनाल्डोले गरेर देखाईदिए !

युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डोले यो सिजन सेरी-ए मा २९ गोल गरे। उनी प्रतियोगिताको उच्च गोलकर्ता रहे। योसँगै पोर्चुगिज स्टार एक मात्र यस्तो खेलाडी बनेका छन् जो प्रिमियर लिग, लालिगा र सेरी-ए तीन लिगमा उच्च गोलकर्ता बन्न सफल भए।

३६ वर्षीय स्ट्राइकरले २९ गोल गरेको सिजनमा युभेले पनि खासै राम्रो प्रदर्शन गर्न सकेन। पछिल्लो ९ वर्ष लिग उपाधि जित्न सफल युभेन्टस यो सिजन भने चौंथो स्थानमा खुम्चियो। इन्टर मिलानले १ दशकपछि लिग उपाधि चुम्न सफल भएको छ भने एसी मिलान दोस्रो र एटालान्टा तेस्रो स्थानमा रहन सफल भएका छन्।

इटालीमा आफ्नो तेस्रो सिजनमा लिगको उत्कृष्ट गोलकर्ता बन्न सफल भएका रोनाल्डोले २०१८-१९ सिजनमा २१ गोल गरेका थिए भने २०१९-२० मा ३१ गोल गर्न सफल भएका थिए। तर उनी पहिलो वर्ष फाबियो क्वाग्रीओला र दोस्रो वर्ष काइरो इमोबिलेसँग पछाडी परे। २०१८ मा स्पेनिस क्लब रियल म्याड्रिड बाट इटाली प्रस्थान गरेका रोनाल्डोले ओल्ड लेडीका लागि ९७ सेरी-ए खेलमा ८१ गोल गरेका छन् भने क्लबका लागि कुल १०१ गोल गरिसकेका छन्।

५ पटकका ब्यालुन डी ओर विजेताले २०१९ र २०२० मा लगातार दुई पटक सेरी-ए फुटबलर अफ द इयर अवार्ड जित्न सफल भएका थिए। यसअघि उनले म्यानचेस्टर युनाइटेडमा हुँदा २००७-०८ सिजनमा प्रिमियर लिगमा सबैभन्दा धेरै ३१ गोल गर्न सफल भएका थिए। सबै प्रतियोगितामा ४२ गोल गर्न सफल भएका रोनाल्डोले उक्त वर्ष युनाइटेडका लागि प्रिमियर लिग र च्याम्पियन्स लिग जितेका थिए। पोर्चुगिज कप्तानले आफ्नो पहिलो ब्यालुन डी ओर अवार्ड पनि सोहि वर्ष जित्न सफल भएका थिए।

त्यस्तै, रोनाल्डोले रियलबाट खेल्दा ३ पटक पिचिची अवार्ड जित्न सफल भए। उनले २०१०-११ को लालिगा सिजनमा लिगको उच्च गोलकर्ता बन्दै सिजनको समाप्ति गरेका थिए। उक्त वर्ष ४० लिग गोल गरेका रोनाल्डो लालिगाको एक सिजनमा ४० गोल गर्ने पहिलो खेलाडी बनेका थिए। त्यस्तै, २०१३-१४ सिजनमा पनि ३१ गोलका साथ उनी लिगको टप-स्कोरर रहे। २०१४-१५ मा ४८ गोल गरेका रोनाल्डोले पिचिची अवार्डको ह्याट्रिक गरेका थिए।

प्रकाशित : सोमबार, जेठ १०, २०७८१२:०३

“मेस्सी जस्तो खेलाडी फुटबल इतिहासमा आएको पनि थिएन, आउने पनि छैन”