मेस्सी ‘जिनियस’ होलान् तर फुटबल जगतका ‘गोट’ रोनाल्डो नै हुन् !

बार्सिलोना सुपरस्टार लियोनल मेस्सी एक उत्कृष्ट खेलाडी भएता पनि युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डो नै फुटबल जगतका ग्रेटेस्ट अफ अल टाइम ‘गोट’ हुन्। यो पिएर्स मोर्गनको अनुसार हो। युरोपका टप लिगमा फरक-फरक ३ लिगमा उच्च गोलकर्ता बन्ने पहिलो खेलाडी बन्दै रेकर्ड बनाएका रोनाल्डोको तारिफ गर्दै मोर्गनले उनलाई ‘गोट’ भनेका हुन्।

युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डोले यो सिजन सेरी-ए मा २९ गोल गरे। इटालीमा आफ्नो तेस्रो सिजनमा लिगको उत्कृष्ट गोलकर्ता बन्न सफल भएका रोनाल्डोले २०१८-१९ सिजनमा २१ गोल गरेका थिए भने २०१९-२० मा ३१ गोल गर्न सफल भएका थिए। तर उनी पहिलो वर्ष फाबियो क्वाग्रीओला र दोस्रो वर्ष काइरो इमोबिलेसँग पछाडी परेका थिए।

तर यो सिजन भने रोनाल्डोले आफ्नो व्यक्तिगत अवार्डमा सेरी-ए गोल्डेन बुट पनि थप गरेका छन्। लामो समयदेखि पोर्चुगिज कप्तानको प्रशंसक रहेका मोर्गनले रोनाल्डोको यस्तो रेकर्ड पछि सामाजिक सञ्जालमा एक पोस्ट गर्दै लेखेका छन्,”मेस्सी एक प्रभावशाली खेलाडी हुन् तर उनले कहिल्यै रोनाल्डोले जस्तो आफूलाई विभिन्न लिगमा चुनौती दिने प्रयास गरेनन्। त्यसैले, रोनाल्डो ‘गोट’ हुन्।”

यस सिजन सेरी-ए टप-स्कोरर बनेका रोनाल्डो यसअघि म्यानचेस्टर युनाइटेडमा हुँदा २००७-०८ सिजनमा प्रिमियर लिगमा सबैभन्दा धेरै ३१ गोल गर्न सफल भएका थिए। त्यस्तै, रोनाल्डोले रियलबाट खेल्दा ३ पटक पिचिची अवार्ड जित्न सफल भएका थिए। उनले २०१०-११ को लालिगा सिजनमा लिगको उच्च गोलकर्ता बन्दै सिजनको समाप्ति गरेका थिए। उक्त वर्ष ४० लिग गोल गरेका रोनाल्डो लालिगाको एक सिजनमा ४० गोल गर्ने पहिलो खेलाडी बनेका थिए। त्यस्तै, २०१३-१४ सिजनमा पनि ३१ गोलका साथ उनी लिगको टप-स्कोरर रहे।

प्रकाशित : सोमबार, जेठ १०, २०७८१७:३५

ब्यालुन डी ओर पावर र्यान्किंग: बेन्जेमाको छलांग, मेस्सी टप ३ र रोनाल्डो टप १० मा छैनन् !