एजेन्सी – युभेन्टस तथा पोर्चुगल राष्ट्रिय टोलीका स्टार-फरवार्ड क्रिस्टियानो रोनाल्डोले हरेक खेलाडीको जीवन उतारचढावले भरिपूर्ण हुने बताएका छन्।
इटालियन सिरी ‘ए’ जित्न नसकेको अवस्थालाई लिएर रोनाल्डोले इन्स्टाग्राम मार्फत एक सन्देश जारी गर्दे एक शिर्ष खेलाडीको जीवनमा धेरै उतारचढाव हुने बताएका हुन्। हरेक वर्ष शानदार टीम र असाधारण खेलाडीहरू विरुद्ध खेल्नु पर्ने हुँदा उत्कृष्टताको स्तर कायम राख्न उत्कृष्ट नै दिनुपर्ने रोनाल्डोको भनाई छ।
रोनाल्डोले इन्स्टाग्राममा लेखेका छन्,”कुनै पनि शीर्ष खेलाडीको जीवन र क्यारियर उतारचढावले भरिएको हुन्छ। वर्षैपिच्छे हामी शानदार टीम, असाधारण खेलाडी महत्वाकांक्षी लक्ष्यको सामना गर्छौं। त्यसैले हामी आफैंलाई उत्कृष्टताका स्तरमा राख्नको लागि हामीले सधैं उत्कृष्ट नै दिनुपर्नेहुन्छ।”
आफूहरुले सिरी ‘ए’ जित्न जित्न नसकेपनि रोनाल्डोले सिरी ‘ए’ च्याम्पियन इन्टर मिलानलाई बधाई दिएका छन्। यधपी युभेन्टसले सन् २०२०-२१ को सिजनमा हाँसिल गरेको सफलतालाई पनि महत्व दिनुपर्ने रोनाल्डोको भनाई छ। त्यस्तै रोनाल्डोले सिरी ‘ए’को शिर्ष गोलकर्ता भएकोप्रति पनि खुशी गरेका छन्।
युभेन्टसमा आएको पहिलो दिनबाट राखेका लक्ष्यहरुमा आफू पुग्न सकेको पनि रोनाल्डोले बताएका छन्। युभेन्टसमा रहेर सम्भव सबै उपाधि जित्ने र व्यक्तिगत रुपमा सर्वश्रेष्ठ खेलाडी र शीर्ष स्कोरर हुने लक्ष्य पूरा भएको रोनाल्डोको भनाई छ।
साथै रोनाल्डोले आफू रेकर्डको पछाडी दौडिने नभई रेकर्ड आफ्नो पछाडी दौडिने पनि बताएका छन्। युरोपमा तीन देशका शिर्ष लिगमा आफूले हाँसिल गर्न सकेको सफलता प्रति रोनाल्डोले गर्व पनि व्यक्त गरेका छन्। अन्तिममा रोनाल्डोले आफ्नो यात्रामा भाग लिने सम्पूर्णलाई धन्यवाद पनि दिएका छन्।
युभेन्टस छाड्दै रोनाल्डो ?
पछिल्लो सन्देशले युभेन्टसमा रोनाल्डोको भविष्यलाई लिएर विभिन्न प्रश्न उब्जाएको छ। पछिल्लो समय उनले युभेन्टस छाड्ने चर्चा चलिरहेका बेला यस्तो सन्देश आउनुलाई धेरै नै महत्वपूर्ण मानिएको छ।

