काठमाडौँ, कोभिड–१९ सङ्क्रमण जोखिम बढ्दो क्रममा रहेकाले काठमाडौँ उपत्यकामा थप कडाइ गर्नेगरी निषेधको आदेश एक साता थप गर्ने निर्णय गरिएको छ । यसअघि जेठ १३ गते सम्मका लागि निषेधको आदेश जारी भएकामा उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप कडाइ गर्दै निषेधको आदेश जेठ २० सम्मका लागि थप्ने निर्णय गरेको हो ।
नेपालमा नयाँ भेरियन्टको कोभिड–१९ सङ्क्रमण फैलिएको र त्यसको प्रभाव उपत्यकामा बढ्दो रहेकाले अझै सुरक्षा निगरानी बढाउनुपर्ने आवश्यकता महसुस गरी थप कडाइ गरिएको जनाइएको छ । यसपालिको निषेधाज्ञाको कार्यान्वयन तह फितलो भएको गुनासो बढिरहेको छ ।
सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रजिअले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको छ । सोही अधिकार प्रयोग गरी निषेधाज्ञा थप गरिएको हो।
दुई दिन भित्रमा एक हप्तालाई पुग्ने खाद्यान्न किनेर राख्न आग्रह
काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले दुई दिन भित्रमा एक हप्ताको लागि पुग्ने खाद्यान्न किनेर राख्न अनुरोध गरेको छ। थप गरिएको निषेधाज्ञाको समयमा किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न नपाउने निर्णय भएको छ। जस कारण तीनै जिल्ला प्रशासन कार्यालयले दुई दिन भित्रमा एक हप्ताको लागि पुग्ने खाद्यान्न किनेर राख्न अनुरोध गरेको हो।