रोनाल्डोले भने – ‘म युभेन्टस छाड्छु’

एजेन्सी – पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले युभेन्टसका सहकर्मी खेलाडीहरुलाई क्लब छाड्न चाहेको बताएका छन्। इटालीबाट प्रकाशित हुने एक मिडियाका अनुसार रोनाल्डोले युभेन्टसका सहकर्मी खेलाडीहरुलाई आफूले क्लब छाड्न चाहेको बताएका हुन्।

रोनाल्डोले यहि समर ट्रान्सफरमा क्लब छाडेर अन्यत्र जाने कुरा आफ्ना सहकर्मी खेलाडीहरुलाई स्पष्ट बनाइसकेको उक्त इटालियन पत्रिकाले जनाएको छ। उसका अनुसार रोनाल्डोले आसन्न युरोकप तयारीका लागि पोर्चुगल फर्किनु अगाडी नै सो कुरा स्पष्ट परेका थिए।

सन् २०१८ मा युभेन्टस पुगेयता रोनाल्डोले १ सय ३३ खेल खेलिसकेका छन्। त्यसमा उनले १ सय १ गोल गरेका छन्। घरेलु लिगमा रोनाल्डोको प्रदर्शन उत्कृष्ट रहेपनि च्याम्पियन्स लिगमा भने उनले जादू देखाउन सकेनन्। च्याम्पियन्स लिगमा खास प्रदर्शन गर्न नसकेपछि उनको आलोचना समेत भयो। त्यसै कारणले रोनाल्डोले युभेन्टस छाड्न लागेको अनुमान गरिएको छ।

म्यानचेस्टर युनाइटेड फर्किने चर्चा

पछिल्लो समय रोनाल्डो पूर्वक्लब म्यानचेस्टर युनाइटेड फर्किने चर्चा चलिरहेको छ। विभिन्न संचार माध्यमहरुका अनुसार उनी रियल म्याड्रिड फर्किने सम्भावना नभएपछि युनाइटेड फर्किने मनस्थितमा पुगेका हुन्। त्यस विषयमा उनी र युनाइटेडका प्रशिक्षक बीच समेत कुरा भएको बताइन्छ।

प्रकाशित : बिहिबार, जेठ १३, २०७८१६:५२

आज लगातार दोस्रो दिन कोरोना संक्रमित भन्दा निको हुनेको सङ्ख्या बढी !