एजेन्सी – इटालियन टोली युभेन्टसले प्रशिक्षक आन्द्रीए पिर्लोलाई जिम्मेवारी दिएको एक सिजनमा नै बर्खास्त गरेको छ ।
सन् २०१२ पछि पहिलो पटक लिग उपाधि जित्न नसकेपछि क्लबले पिर्लोलाई जिम्मेवारीबाट मुक्त गरेको हो । ४२ वर्षीय पिर्लोले माउरिजियो सारीको स्थान लिँदै सिजनको सुरुवातदेखि प्रशिक्षक बनेका थिए । लिग उपाधि जित्न नसकेको युभेन्टसले लिगको अन्तिम चरणमा अन्य टोलीको भर परेर च्याम्पियन्स लिगमा स्थान बनाएको थियो ।
खेलाडीका रुपमा सन् २०११ देखि १५ सम्म युभेन्टसमा खेलेका पिर्लोले १ सय ६४ खेल खेलेका थिए । उनले खेलाडीका रुपमा ४ पटक लिग उपाधि जितेका थिए । एसी मिलानबाट युभेन्टस आएका पिर्लोले मिलानमा रहँदा २-२ पटक लिग उपाधि र च्याम्पियन्स लिग जितेका थिए ।
पिर्लोले इटालीको राष्ट्रिय टोलीका लागि १ सय १६ खेल खेलेका थिए । उनले सन् २००६ को विश्वकप जिताउँदा प्रभावशाली प्रदर्शन गरेका थिए । पिर्लोलाई प्रशिक्षक नियुक्त गर्ने निर्णयले धेरैलाई आश्चर्यमा परेको थियो । पहिलो सिजनमा नै इटालियन सुपर कप र कोप्पा इटालिया जितेपनि पिर्लोले आफ्नो जागिर बचाउन सकेनन् ।
युभेन्टसले अब पूर्व प्रशिक्षक मासिमिलानो एलेग्रीलाई पुन: प्रशिक्षक नियुक्त गर्ने संभवाना रहेको छ । एलेग्रीले युभेन्टसलाई सन् २०१४ देखि २०१९ सम्म हेरेका थिए । हरेक सिजन लिग उपाधि जितेका उनले दुई पटक च्याम्पियन्स लिग फाइनल पुर्याएका थिए । एलेग्री पछिल्लो समय जिम्मेवार विहिन रहँदै आएका छन् ।

