एजेन्सी – माउरिसयो पोचेटिनोले पेरिस सेन्ट जर्मेन(पीएसजी) छाड्ने चर्चाले फुटवलवृत्तमा एक प्रकारको तरंग पैदा गरेको छ। फ्रान्स पुगेको केहि महिना नपुग्दै उनले पीएसजी छाड्ने चर्चाले सबै अचम्मित भएका छन्। विभिन्न संचार माध्यमहरुका अनुसार पोचेटिनोले पीएसजीलाई क्लब छाड्न चाहेको बारे जानकारी गराइसकेका छन्।
पीएसजीसँग करिब २ वर्षको सम्झौता गरेका भनिएका पोचेटिनो पीएसजी छाड्ने निर्णयमा किन पुगे भन्ने कुरा भने खुल्न सकेको छैन। उनले पीएसजी छाड्न चाहेको खबर बाहिरिएसँगै उनी माथि युरोपका केहि क्लबहरुले निगरानी बढाएका छन्।
एक खबरका अनुसार इंग्लिस क्लब टोटनहम हट्सपरले पूर्व प्रशिक्षक माउरिसयो पोचेटिनोलाई फर्काउने प्रयासमा छ। टोटनहमले बर्खास्त गरेको १८ महिनापछि प्रिमियर टोली पूर्व प्रशिक्षकलाई फर्काउन चाहिरहेको विभिन्न संचार माध्यमहरुले जनाएका छन्।
५ वर्ष प्रशिक्षक रहँदा पोचेटिनोले टोटेनहमलाई इङ्ल्यान्ड र युरोपका प्रतियोगितामा बलियो प्रतिष्पर्धीको रुपमा उभ्याउन सफल भएका थिए। त्यसक्रममा उनले टोटेनहमलाई च्याम्पियन्स लिगको फाइनल सम्म पुर्याएका थिए। तर, टोटेनहमले उनलाई २०१९-२० को सिजनको सुरुवातको बर्खास्त गरेको थियो।
पोचेटिनो गएयता टोटेनहमले खासै राम्रो प्रदर्शन गर्न सकेको छैन। कुनै बेला च्याम्पियन्स लिगको फाइनल यात्रा तय गरेको क्लब अहिले च्याम्पियन्स लिग मात्र नभई युरोप लिगमा स्थान बनाउन समेत असमर्थ छ।
पोचेटिनो माथि रियलको पनि नजर
पीएसजी छाड्ने खबर पश्चात स्पेनिस महारथी रियल म्याड्रिडले पनि पोचेटिनो माथि चासो राखेको छ। प्रशिक्षक जिनेदिन जिदानले क्लब छाड्ने बताएपछि रियल नयाँ प्रशिक्षकको खोजिमा छ। उसले क्लब प्रशिक्षकमा पोचेटिनोलाई ल्याउन चाहेको विभिन्न संचार माध्यमहरुले जनाएका छन्।
क्लबमै अड्याउने प्रयासमा पीएसजी
पोचेटिनोले क्लब छाड्न चाहेको बताएपनि पीएसजी समस्यामा परेको छ। उसले पोचेटिनोलाई क्लबमै अड्याउने प्रयास गरिरहेको बताइन्छ। क्लबका खेल निर्देशक लियोनार्डोले पोचेटिनोको क्लबसँग दुई वर्षको सम्झौता रहेको बताएका छन् । फ्रेन्च मिडियाहरुका अनुसार क्लब र पोचेटिनो बीच थप कुराकानी पनि भइरहेको छ।

