प्यारा रियल म्याड्रिड समर्थक,
विगत २० वर्ष देखि, म म्याड्रिड सहरमा आएर यो सेतो जर्सी लगाएको पहिलो दिनदेखि मैले तपाईंहरुको माया पाएको छु । मलाई सधैं यहि लाग्थ्यो की हामीबीच केहि विशेष सम्बन्ध छ । म विश्वकै सर्वश्रेष्ठ क्लबमा खेलाडी र प्रशिक्षकका रुपमा काम गर्न पाउँदा गौरव महसुस गरेको छु ।
र त्यसभन्दा माथि म आफैं रियल म्याड्रिड समर्थक पनि हुँ । यसैकारण पनि मैले यो पत्र लेखेर बिदा हुनुपर्छ । मेरो प्रशिक्षक पदबाट राजिनामा दिनुको कारण पनि मैले थाहा दिनु जरुरि ठानेको छु ।
मैले जब मार्च २०१९ मा आठ महिनाको विश्रामपछि रियल म्याड्रिड फर्कने निर्णय गरें, त्यो अध्यक्ष फ्लोरेन्टिनो पेरेजको प्रस्ताव र तपाईं समर्थकको निरन्तर आग्रहको कारण थियो ।
जब मैले कोहि समर्थकलाई बाटोमा भेट्थें, मैले तपाईंहरुको साथ र मलाई फेरी टिममा फर्केको हेर्ने चाहना महसुस गरें । म रियल म्याड्रिडको मान बुझ्ने समर्थक हुँ र मलाई थाहा छ यो क्लब यसका सदस्य, समर्थक र सारा विश्वको हो । म आफैं पनि यो मानमा अडिग रहने कारण सधैं उदाहरणको रुपमा प्रस्तुत हुन चाहन्छु ।
रियल म्याड्रिडमा २० वर्ष बिताउनु मेरो जीवनकै उत्कृष्ट पल रहयो । मलाई यो पनि थाहा छ की सन् २००१ मा फ्लोरेन्टिनो पेरेजले मलाई ल्याउन निकै संघर्ष गरे । उनको विरुद्धमा अरु थिए, तर उनले भिडेर मलाई ल्याए । म जब अध्यक्ष पेरेजलाई धन्यवाद दिन्छु त्यो मेरो भित्रि हृदयदेखि नै आभार व्यक्त गरेको हुन्छु । सधैं । मैले यसपटक क्लब छोड्ने निर्णय गरें र यसको कारण पनि स्पष्ट भन्न चाहन्छु । म रियल छोड्दैछु तर आफ्नो पेशा छोड्ने छैन । म प्रशिक्षणबाट थाकेको पनि छैन ।
मैले मे २०१८ मा छोडे किनकि मैले साढे २ वर्षमा धेरै जित र धेरै उपाधि जितें । मलाई लाग्यो टोलीले अब धेरै समय शीर्षस्थानमा रहन केहि परिवर्तन गर्नुपर्छ । तर अहिले, अवस्था फरक छ ।
म यसपटक क्लबले मलाई विश्वास नगरेको कारण क्लब छाड्दैछु । मलाई त्यो विश्वास आवश्यक थियो र मैले पाइनँ । टोलीलाई दिर्घकालिन रुपमा बलियो बनाउन चाहिने साथ पनि मैले पाउन सकिन ।
म फुटबल बुझ्छु र रियल म्याड्रिड जस्तो टोलीको माग पनि । मलाई थाहा छ, जब तपाईं जित दिलाउन सक्नुहुन्, क्लब छाड्नुपर्छ । तर यसको सँगसँगै एक महत्त्वपूर्ण पक्ष पनि बिर्सिएको छ । मैले दिन दिनै गरेको मिहिनेत, खेलाडीसँग मेरो सम्बन्धले आएको प्रदर्शन, झन्डै डेढ सय जनासँग मैले गरेको काम र टोलीमाथिको मिहिनेत ।
म जन्मजात एक विजेता हुँ । म यहाँ उपाधि जित्न आएको हुँ । तर त्योभन्दा बढी महत्त्वपूर्ण यहाँको मान्छे, भावना र उनीहरुको जीवनबारे सोच्नु हो । मलाई लाग्छ पछिल्लो समय यस पक्षमा ध्यान दिइएको छैन । सबै पक्षबाट क्लबलाई अघि बढाउनमा ध्यान पुगेको छैन । र कतिपय अवस्थामा म धेरै आलोचित पनि भएको छु ।
हामीले जे हासिल गर्यौं, म त्यस सम्मानको अपेक्षा गर्दछु । पछिल्लो केहि महिना क्लब र अध्यक्षसँग मेरो जस्तो सम्बन्ध रहयो, त्यो अन्य प्रशिक्षकको भन्दा केहि फरक रहोस् भन्ने मैले चाहेको थिएँ । मैले कुनै किसिमको विशेषाधिकार भने पक्कै चाहेको होइन ।
वर्तमान समयमा कुनैपनि प्रशिक्षकको एक क्लबमा २ वर्ष समय हो, सायद केहि बढी पनि । तर त्योभन्दा बढी बस्ने हो भने व्यक्तिगत सम्बन्ध पनि महत्त्वपूर्ण हुन्छ । त्यो सम्बन्ध पैसा र नाम भन्दापनि महत्त्वपूर्ण हुन्छ । सबै पक्षभन्दा बढी, त्यसलाई सम्हाल्न जरुरि हुन्छ ।
जब टोलीले हार बेहोर्थ्यो र अर्को खेल पनि हारे म नाम बर्खास्त हुन्छ भनेर पत्रिकामा आउँथ्यो, मलाई निकै दुख लाग्थ्यो । म मात्र नभएर सारा टोलीलाई यसले निकै दुखि बनाउँथ्यो । पत्रिकामा यस्तो खबर क्लबबाट नै जानाजान पठाइन्थ्यो र टोलीमा शंका र असमझदारी निम्त्याउने काम भयो ।
म आफूलाई भाग्यमानी ठान्छु कि मैले निकै राम्रा खेलाडीको साथ पाएँ, मलाई मृत्युसम्म साथ दिने । जब स्थिति खराब हुन्थ्यो, उनीहरुले मिहिनेत गरेर टोलीलाई जित दिलाए । यो उनीहरुको मप्रतिको विश्वास र मैले उनीहरुलाई गर्ने विश्वासकै कारण सम्भव भएको थियो ।
म विश्वको सर्वोत्कृष्ट प्रशिक्षक होइन । तर मसँग सबैलाई त्यो शक्ति र मनोबल दिने क्षमता छ जुन उनीहरुलाई आवश्यक पर्छ । चाहे त्यो खेलाडी होस्, प्रशिक्षण टोलीको सदस्य होस् या क्लबको कर्मचारी नै किन नहोस ।
मलाई थाहा छ क्लबलाई के आवश्यक पर्दछ । रियल म्याड्रिडमा २० वर्ष बिताउँदा मैले यो बुझेको छु, समर्थकलाई जित चाहिन्छ । तर त्योभन्दा बढी यो अपेक्षा हुन्छ कि टोलीले आफ्नो शत प्रतिशत मिहिनेत गरोस । र म यो विश्वास दिलाउन चाहन्छु हामीले आफ्नो सबै क्लबको लागि दिएका छौं ।
म यो अवसरमा पत्रकारहरुलाई पनि सन्देश दिन चाहन्छु । मैले सयौं पटक पत्रकार सम्मेलनमा बोलें तर दुर्भाग्य हामीले निकै कम फुटबलको बारेमा बोलेका छौं । मलाई थाहा छ तपाईंहरुलाई फुटबल मनपर्छ । यसै खेलले हामीलाई एकसाथ जोडेको छ ।
तर कुनै आलोचनाको भावना बिना यदि प्रश्नहरु विवादका बारे थिएनन् भने म बढी रुचाउँथें । हामीले खेल र खेलाडीका बारेमा धेरै छलफल गरेको मैले चाहेको थिएँ । किनभने खेलाडी नै यस खेलको सबैभन्दा महत्त्वपूर्ण पक्ष हुन् । हामी फुटबल नबिर्सौं, यस्ल माया गरौँ ।
प्यारा रियल म्याड्रिडका समर्थकहरु, म सधैं तपाईंहरु मध्यकै एक हुन्छु ।
हाला म्याड्रिड!
-जिनेदिन जिदान

