एजेन्सी – इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले अर्को साता सुरु हुने युरोपेली च्याम्पियनसिपका लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका छन् ।
गत साता घोषणा गरिएको ३३ सदस्यीय प्रारम्भिक टोलीबाट ७ खेलाडी बाहिर राख्दै साउथगेटले टोली घोषणा गरेका हुन् । म्यानचेस्टर युनाइटेडका युवा फरवार्ड मेसन ग्रिनवुडले चोटका कारण टोलीबाट स्वयं नाम फिर्ता लिएका छन् । त्यस्तै युनाइटेडबाट नै लोनमा वेस्ट ह्याम पुगेका मिडफिल्डर जेसे लिंगार्डले पनि टोलीमा स्थान बनाउन सकेनन् ।
गोलरक्षक आरोन राम्सडेल टोलीमा परेनन् । डिफेन्डरद्वय बेन गडफ्रे र बेन व्हाइटसँगै मिडफिल्डर जेम्स वार्ड प्राउज र फरवार्ड ओली वाटकिन्स पनि टोलीमा स्थान बनाउन सकेनन् । इंग्ल्यान्डका प्रशिक्षक साउथगेटले ४ राइट ब्याकलाई टोलीमा समेटेका छन् । ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, काइल वाल्कर, काइरान ट्रीपिएर र रिस जेम्स चारै जना टोलीमा छन् ।
केनको कप्तानीमा रहने टोलीमा गोलरक्षक पोजिसनमा निकै प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । त्यस्तै केनसँग आक्रमण कसले सम्हाल्छन् भन्ने पनि चर्चाको विषय रहनेछ । डिफेन्समा पनि युनाइटेडका ह्यारी मगाएरले पूर्ण फिट नरहेका कारण केहि विश्राम लिने सम्भावना छ ।
इंग्ल्यान्ड युरोको समूह डी मा रहेको छ । इंग्ल्यान्डको समूहमा क्रोएसिया, स्कटल्यान्ड र चेक गणतन्त्र रहेका छन् । इंग्ल्यान्डले पहिलो खेल १३ जुनमा क्रोएसियाविरुद्ध खेल्नेछ । त्यसअघि इंग्ल्यान्डले बुधबार अष्ट्रिया र आइतबार रोमानियासँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ ।
युरो खेल्ने अन्तिम टोली :
गोलरक्षक : डीन हेन्डरसन, साम जोन्सटन, जोर्डन पिकफर्ड
डिफेन्डर : ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, बेन चिल्वेल, कनर कोडी, रिस जेम्स, ह्यारी मगाएर, टाइरन मिन्ज्स, लुक शा, जोन स्टोन्स, काइरान ट्रीपिएर, काइल वाल्कर
मिडफिल्डर : जुड बेलिंघम, फिल फोडेन, ज्याक ग्रिलिस, जोर्डन हेन्डरसन, मेसन माउन्ट, काल्भिन फिलिप्स, डेक्लन राइस, बुकायो साका, जेडन सान्चो,
फरवार्ड : डोमिनिक काल्भर्ट लेविन, ह्यारी केन, मार्कस रासफर्ड, रहिम स्टर्लिङ