एजेन्सी – उरुग्वेका स्टार फुटबलर लुइस सुआरेजले एट्लेटिको म्याड्रिडमै रहेर च्याम्पियन्स लिग जित्ने इच्छा जाहेर गरेका छन्।
कोपा अमेरिकाका लागि उरुग्वे पुगेका सुआरेजले एक मिडियासँग कुराकानी गर्नेक्रममा एट्लेटिको म्याड्रिडमै रहेर च्याम्पियन्स लिग जित्ने आफ्नो चाहना रहेको बताएका हुन्।
हरेक नयाँ सिजन आफू नयाँ महत्वाकांक्षा सहित अगाडी बढ्ने सुआरेजले बताए। एट्लेटिकोबाट खेल्दै च्याम्पियन्स लिग जित्न सके त्यसले धेरै आनन्द दिने सुआरेजको भनाई छ।
“जहिले पनि म नयाँ सिजनका बारेमा सोच्दछु, नयाँ चुनौति र आशाहरू थपिन्छन्, जीतको चाहना बढ्छ।”,उनले भने,”यदि तपाईं जितेर दिक्क हुनुहुन्न भने झन् धेरै प्रतिस्पर्धी बन्नुहुन्छ।”
जीतको चाहना, लक्ष्य र महत्वाकांक्षा कहिले पनि रोकिन नहुने सुआरेजको भनाई छ। उनले भने,”महत्वाकांक्षा रोकिनु हुँदैन। त्यसैले किन च्याम्पियन्स लिगको सपना नदेख्ने। यो अविश्वसनीय र अनौंठो कुरा हुनेछ।”
एट्लेटिको म्याड्रिडमा रहेर च्याम्पियन लिग जित्ने इच्छा जाहेर गर्दा सुआरेजले भर्खरै च्याम्पियन्स लिग जितेको चेल्सीलाई सम्झिए। सबैले कम्जोर आँकेपनि चेल्सी च्याम्पियन बनेको उनले सुनाए।
“चेल्सीलाई हेर्नुस्। सबै चेल्सीसँग खेल्न चाहन्थे किनकी सबैले चेल्सीलाई कम्जोर आँकेका थिए। अन्तिममा गएर उनीहरुले च्याम्पियन्स लिग जितिछाडे”,सुआरेजले भने।
एट्लेटिकोमा रहने नरहने बारे यसो भने
सुआरेजले एट्लेटिकोमै रहने स्पष्ट पनि पारे। एट्लेटिकोमै रहन आफूलाई कुनै समस्या नरहेको उनको भनाई छ। म्याड्रिडमा रहन आफ्नो परिवारलाई पनि कुनै समस्या नरहेको उनले बताए।
उनले भने,”क्लबलाई मैले म्याड्रिडमा रहन मलाई र मेरो परिवारलाई समस्या नरहेको बताइसके।”