काठमाडौं – विश्वकप तथा एसिया कप छनोट अन्तर्गत समूह चरणको छैटौं खेलमा बिहीबार नेपालले चाइनिज ताइपेइको सामना गर्दैछ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीका लागि यो औपचारिक प्रतियोगितामा पहिलो खेल हो ।
झन्डै दुई साता अलमुताइरीको नेतृत्वमा प्रशिक्षण गरेको नेपाली टोलीले गत साता इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । अन्जन विष्ट र मनिष डाँगीले गोल गरेको खेलमा नेपाली टोली इराकसँग ६–२ ले पराजित भएको थियो । त्यो मैत्रीपूर्ण खेल थियो । इराक जस्तो बलियो टोलीसँग खेलाउँदा उनले आफ्नो टोलीको परिक्षण गर्ने मौका पाएका छन् ।
प्रशिक्षक अलमुताइरीले इराकविरुद्ध खेलबाट टोलीमा केहि परिवर्तन गर्न सक्छन् । इराकविरुद्ध दोस्रो हाफमा ६ परिवर्तन गरेका उनले आफूले प्रयोग गर्ने सबै खेलाडीको प्रदर्शन हेरिसकेका छन् । गोलरक्षक किरणका लागि पछिल्लो खेल बिर्सनलायक रहेपनि उनले नै टोलीको नेतृत्व गर्नेछन् । सेन्टर डिफेन्समा रोहित चन्द र अनन्त तामाङकै जोडीले निरन्तरता पाउनेछ ।
लेफ्ट ब्याकमा सुमन अर्यालको विकल्प देखिन्न । डेब्युमा नै राम्रो प्रदर्शन गरेका गौतम श्रेष्ठले दीनेश राजवंशीभन्दा अघि रहेर सुरुवात गर्ने देखिन्छ । मिडफिल्डमा पुजन उपरकोटीलाई सन्तोष तामाङ र सुमन लामाले साथ दिएका थिए । दोस्रो हाफमा विशाल राई र एरिक विष्ट मैदान छिरेका थिए । पछिल्लो खेलमा चोट बोक्दै मैदान छाडेका सुमनको स्थानमा विशालले खेल्ने सम्भावना छ ।
आक्रमणमा अन्जन विष्ट र मनिष डाँगीको स्थान पक्का जस्तै छ । नवयुग श्रेष्ठले पछिल्लो खेलमा केहि तल झरेर खेलेका थिए । प्रशिक्षक मुताइरीले चाहेमा मनिष वा अन्जनलाई आक्रमणमा जोड दिएर विंगरको रुपमा सुमनलाई खेलाउन सक्छन् । सुनिल बल पनि विंग पोजिसनका लागी दाबेदार हुन् ।