काठमाडौँ, नेपालमा यस वर्षदेखि मनसुन पछाडि धकेलिएको छ । मनसुन सुरु हुने, बहिर्गमन हुने र मनसुनको अवधिसमेतको अवधि पछाडि धकेलिएको हो । यसअघिका १० वर्षको अवधिमा हरेक वर्ष जुन १० मनसुन सुरु हुने दिन तय गरिएको थियो तर यस वर्षदेखि जुन १३ लाई मनसुन सुरु हुने मिति तय भएको छ । यो समाचार गोरखापत्रमा प्रकाशित छ।
त्यस्तै गत वर्षसम्म मनसुन सकिने अवधि सेप्टेम्बर २३ रहेकोमा अब मनसुन सकिने मितिसमेत पछि सर्दै अक्टोबर २ पुगेको छ । त्यसैले यसै वर्षदेखि मनसुन सुरु हुने र अन्त्य हुने अवधि नै पछाडि सरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विगत चार–पाँच वर्षयता मनसुन सुरु हुने समय ढिला हुँदै गएको अवस्था र हरेक १० वर्षमा मनसुन अवधि अद्यावधिक गर्न आवश्यक मौसम विश्लेषणपछि मनसुन सुरु हुने र अन्त्य हुने मिति पछाडि सारिएको विभागको जलवायु महाशाखाकी वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार विश्व मौसम सङ्गठनको नियमअनुसार अन्तर्राष्ट्रिय मान्यताअनुरूप हरेक १० वर्षमा मौसम परिवर्तनको अवस्था विश्लेषण गरी अद्यावधिक गर्नुपर्ने हुन्छ । उहाँले भन्नुभयो, “नेपालको मनसुनसहितको मौसमी अवस्था अद्यावधिक गर्नका लागि पछिल्लो ३० वर्ष अर्थात् सन् १९९१ देखि २०२० सम्मको मौसमी तथ्याङ्कलाई विश्लेषण गरिएको छ ।”
त्यस विश्लेषणले नेपालमा मनसुन सुरु हुने औसत दिन जुन १३ मा पुगेको देखाएअनुरूप नै यस वर्षदेखि केही पछाडि सरेको हो । विगतका केही वर्ष
यता जुन १० मा सुरु हुनुपर्ने मनसुन ढिला गरेर एक साता ढिला हुने गरेको थियो । सो अनुपात निकाल्दा पनि बीचको मितिलाई नयाँ मनसुनको मिति बनाइएको हो ।
त्यस्तै सेप्टेम्बर २३ मनसुन बहिर्गमन हुने मौसमी अवस्था पनि विगत केही वर्षयता अक्टोबर पहिलो साता पुग्ने गरेको थियो । विगत ३० वर्षको मौसमी विश्लेषणसहित परिमार्जन गरेर अक्टोबर पहिलो साता मनसुन अन्त्य हुने दिन मनसुन फोरमको बैठकले तय गरेको मौसमविद् कँडेलको भनाइ छ । यो विगतका वर्षमा भन्दा १० दिन ढिला मनसुन अन्त्य हुने मिति हो ।
त्यस्तै गरेर विगत १० वर्षसम्म मनसुनको अवधि सरदर १०५ दिन रहेको थियो । यो अवधि मनसुन पछाडि सर्ने क्रममा बढेको विभागले औँल्याएको छ । अब तय भएको मनसुनी अवधि छ दिन बढेर १११ दिन पुगेको कँडेलले जानकारी दिनुभयो ।
मनसुनी प्रणाली छिमेकी मुलुक भारत हुँदै नेपालको पूर्वी भूभागबाट भित्रने गर्छ । भूमध्य रेखाको प्रशान्त महासागरमा विकसित हुने मनसुन प्रणाली उत्तरतिर सर्ने क्रममा माल्दिभ्स, श्रीलङ्का हुँदै म्यान्मारको आकाशमा पुग्छ । त्यसपछि बङ्गलादेश र भारतमा भित्रिएपछि बल्ल नेपालको आकाशमा मनसुन भित्रिन्छ ।
यति बेला मनसुनी प्रणाली भारतको आकाशमा आइपुगेको छ । अबको एक साताभित्र अन्य कुनै प्रणालीले असर नगरेमा केही दिन पर गएर मनसुन नेपाल भित्रने छ । यद्यपि बाह्य प्रभावले केही दिन वर वा पर हुन सक्ने सम्भावनालाई नकार्न नसकिने मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरको भनाइ छ । उहाँका अनुसार मनसुन रेखा भारतको केरलामा समेत सुरु भइसकेको छैन ।