विपक्षि गठवन्धनको एक स्वर – ‘ओलीले राज्य प्रणाली ध्वस्त पारे’

काठमाडौँ – विपक्षी दलको गठबन्धनले नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत व्यापार घाटा कम गर्ने भनी खानीजन्य ढुंगा, बालुवा र गिटीको निकासी गर्न दिने नीति ल्याइएको जनाई त्यसलाई फिर्ता गर्न माग गरेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्ति जारी गरी सो माग गरेका हुन् ।

नेताहरुले उक्त नीतिले नेपालको तराई क्षेत्रलाई मरुभूमीकरण गर्ने र त्यहाँका बसिन्दालाई बाढी, डुबान र पानीको स्रोत सुक्ने समस्यामा पार्दै जनजीवनलाई नै जोखिमयुक्त बनाउने तर्क गरेका छन् । त्यस्तै आयोडिनयुक्त नूनमा सरकारले अनुदान दिई आपूर्ति गरिरहेकामा हालै बजेटमार्फत कसैलाई फाइदा पुर्याउने तथा प्रश्रय दिने मनशायबाट बजेटमा नयाँ थप व्यवस्था गरेको आरोप पनि लगाउँदै गठबन्धनले उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।

ओली नेतृत्व सरकारले राज्य प्रणालीलाई नै अस्तव्यस्त तुल्याइरहेको जनाउँदै विपक्षी गठबन्धनले संसद्को अवमूल्यन गरी अध्यादेशमार्फत बजेट ल्याएको गठबन्धनले जनाएको छ।

कोभिड–१९ संक्रमण, रोकथाम नियन्त्रण र उपचारमा जिम्मेवार बन्न तथा लामो निषेधाज्ञाका कारण दैनिक रोजीरोटी गुमाउन पुगेका गरीब, असहाय र श्रमजीवी जनताका लागि विशेष राहत प्याकेज तत्काल घोषणा गर्नसमेत माग गरिएको छ ।
प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका स्थितिमा मन्त्रिपरिषद्मा पुनर्गठन गरी संवैधानिक र लोकतान्त्रिक मूल्य र मान्यताको उपहास गरिएकोे आरोप गठबन्धनले लगाएको छ ।

प्रकाशित : आइतबार, जेठ २३, २०७८०८:०५

पार्टीभित्रको एकतामा सङ्कट देखा परेपछि पोखरेलले गरे यस्तो आह्वान!