खाने तेलको मूल्यमा अचाक्ली मूल्य वृद्धि, एक वर्षमै यति धेरैले बढ्यो !

काठमाडौँ – बजारमा एक वर्षको अवधिमा खाने तेलको मूल्य लिटरमा एक सय रुपैयाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थ मूल्य बढेर आएकाले तेलको मूल्य एक सय रुपैयाँ बढेको हो । गत वर्ष वैशाख महिनामा १६० रुपैयाँ रहेको प्रतिलिटर तेलमा एक सय रुपैयाँ बढेर २६० पुगेको छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ।

कच्चा पदार्थको मूल्य बढेर आएको भन्दै व्यवसायीले तेलको मूल्य बढाएका हुन् । एक वर्षअघि प्रतिलिटर १४० रुपैयाँ रहेको भटमासको तेलको मूल्य बढेर लिटरमा २४० रुपैयाँ पुगेको छ । यस्तै तोरीको तेलको मूल्य बढेर प्रतिलिटर २८० पुगेको छ ।

कच्चा पदार्थको मूल्य बढेर आएको भन्दै व्यवसायीले एक वर्षको अवधिमा खाने तेलको मूल्य धेरै नै बढाएका हुन् । लगातार मूल्य बढेपछि त्यसको प्रत्यक्ष असर आमउपभोक्तामा पर्न गएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न गरिएको निषेधाज्ञापछि पुनः तेलको मूल्य बढेको छ । कच्चा पदार्थको मूल्य बढेर आएकाले मूल्य बढ्न गएको उद्योगीको भनाइ छ । कच्चा पदार्थको मूल्य बढेर आएको बहाना देखाउँदै उद्योगीले तेलमा अस्वाभाविक मूल्य बढाएको उपभोक्ता अधिकारकर्मीको भनाइ छ । निषेधाज्ञाको बेला बजारमा चिनी, खाने तेलमा अभाव देखाएर मूल्य बढाउँदा उपभोक्ताई प्रत्यक्ष मार परेको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सेनाले जानकारी दिए । उद्योगीले तेलमा अस्वाभाविक मूल्य बढाउँदा पनि कारबाही नहुँदा मूल्य अकासिँदै गएको उनको भनाइ छ ।

नेपाल वनस्पति घिउ तेल उत्पादन संघका अनुसार, अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्य बढेकाले तेलको मूल्य बढ्न गएको हो । संघमा आबद्ध २० वटा प्रशोधित खानेतेल उत्पादन गर्ने उद्योगले नियमतिरूपमा आफ्ना उत्पादन गरेर बजारमा वितरण गर्दै आएका छन् । उद्योगलाई चाहिने मुख्य कच्चा पदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्टे«लिया, युक्रेन देशबाट आयात हुनेगर्छ । संघका अनुसार कच्चा पदार्थ बढेर आएकाले एक वर्षको अवधिमा ६ वटा खानेतेलको मूल्य (तोरी, वनस्पति, सोयाविन, सनफ्लावर, पाम र बदाम) २० देखि ५६ प्रतिशतसम्म बढेको छ ।

प्रकाशित : बिहिबार, जेठ २७, २०७८०८:४४

ओलीलाई लगातार झड्का !