कांग्रेसको महाधिवेशन अझै शंकाको घेरामा !

काठमाडौं । गत शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको केन्द्रीय कमिटी बैठकले १४ औं महाधिवेशन १६–१९ भदौमा काठमाडौंमा गर्ने निर्णय गरेपछि नेपाली कांग्रेसका नेताहरु छलफलमा जुटेका छन् । फेरि एकपटक कांग्रेसको नेतृत्व गर्ने मनासयका साथ सभापति शेरबहादुर देउवा यसमा झन् अग्रसर भएका छन् । त्यस्तै, यसपटक नेपाली कांग्रेस सभापतिका अरु आकांक्षीहरु रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशशरण महत, शशांक कोइराला, शेखर कोइराला तथा कृष्णप्रसाद सिटौला पनि विभिन्न छलफलमा जुट्न थालेका छन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

एकातिर नेताहरुले महाधिवेशन केन्द्रित छलफल सुरु गरेका छन् भने अर्कोतिर तोकिएको समयमा कांग्रेस महाधिवेशन हुने सम्भावना कम हुँदै गएको छ । कांग्रेस महाधिवेशन तोकिएको समयमा नहुने सम्भावना बढ्नुको कारण संस्थापन पक्षले यसलाई गम्भीर रुपमा नलिनु भएको कांग्रेसका एक केन्द्रीय सदस्यले बताए । ‘सबैभन्दा पहिले त अहिले देखिएको क्रियाशिल सदस्यताको विवादलाई कसरी सुल्झाउने भन्ने विषयमा अहिलेसम्म कुनै मापदण्ड बनेको छैन,’ कांग्रेसका ती नेताले भने, ‘यसमा अहिलेसम्म कुनै काम हुन नसक्नु भनेको यसअघि तोकिएको समयमा महाधिवेशन गर्न सकिने सम्भावना पनि कम हुँदै जानु हो ।’

कांग्रेसमा क्रियाशिल सदस्यताको टुंगो लगाइसकेपछि मात्र महाधिवेशन प्रक्रिया अगाडि बढ्छ । प्रारम्भिक मतदाता मानिने क्रियाशिल सदस्यहरुले नै वडा अधिवेशनपछि क्षेत्रीय प्रतिनिधि चुन्छन् । क्षेत्रीय प्रतिनिधिले महाधिवेशन प्रतिनिधि र महाधिवेशन प्रतिनिधिले प्रदेश र केन्द्रीय नेतृत्व चुन्छन् । त्यसैले पनि कांग्रेसमा महाधिवेशन हुनका लागि सबैभन्दा पहिले क्रियाशिल सदस्यताबारे आएका विवादहरुको समाधान हुनु पर्ने देखिन्छ । तर, अहिलेसम्म कांग्रेसमा पछिल्लो समय देखिएको क्रियाशिल सदस्यताको विवाद कसरी समाधान गर्ने भन्ने विषयमा कुनै पनि मापदण्ड बनेको छैन । न त क्रियाशिल सदस्यबारे विवाद देखिएका सबै ठाउँको पहिचान नै भइसकेको छ ।

नेपाली कांग्रेसमा क्रियाशिल सदस्यता विवाद समाधान गर्न रमेश लेखकको संयोजकत्वमा एउटा विशेष समिति बनेको छ । समितिका एक सदस्यका अनुसार इमेल र लिखित उजुरी हजारभन्दा बढी बनेका छन् । यो विवाद समाधान गर्नका लागि यो समितिका सदस्यहरु केही दिनदेखि गौशालास्थित एक धर्मशालामा गृहकार्य गरिरहेका छन् । ‘हो, हामीले यसको समाधानका लागि गृहकार्य गर्न यहाँ छलफल अगाडि बढाइरहेका छौँ,’ यो समितिका एक सदस्यले भने, ‘तर, अहिलेसम्म ठोस प्रगति हुन सकेको छैन । हामीले क्रियाशिल सदस्यताको विवाद समाधान गर्नका लागि मापदण्ड अहिलेसम्म बनाइसक्नु पर्ने हो तर यसमा प्रगति नभएकाले महाधिवेशनको तालिका नै प्रभावित हुने र यसअघि भनिएको समयमा महाधिवेशन नहुने सम्भावना बढेको छ ।’

प्रकाशित : शुक्रबार, असार ११, २०७८०८:५८

“माओवादी केन्द्र र प्रचण्ड दुवै अवैध”