भजनी – कर्णाली नदीको बहावले कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने कर्णाली नदीको सत्ती पुल भासिएको छ । हुलाकी राजमार्ग अन्तर्गतको सो पुलको राजापुर क्षेत्र भासिएको सत्ती प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक लोकेन्द्र चन्दले जानकारी दिनुभएको छ । उनले भासिएका स्थानमा मरमत प्रयास भइरहेको बताए।
कटान हुनथालेपछि अहिले पुलमा आवागमन बन्द गरिएको छ । नदी कटान रोक्नका लागि प्रयास भैरहेको स्थानीय भीम बिकले जानकारी दिए। पुल निर्माण भएसँगै राजापुक्षेत्रका भागमा नदीले हरेक वर्षे कटान गर्दै आएको भएपनि यसको दीर्घकालीन उपाय अबलम्बन गरिएको थिएन । पुल निर्माण भएसँगै ती दुई जिल्लाको दक्षिणी क्षेत्रमा यातायात सेवा सञ्चालन भएको थियो ।
बाढीले मेलम्चीमा एक घर बगायो
लगातारको वर्षाले मेलम्ची नगरपालिका–११ मा एक घर बगाएको छ । स्थानीयवासी गोपाल दुलालको तीनतले घर आज बिहान बगाएको हो ।मेलम्ची र इन्द्रावती खोलामा पानीको बहाव बढेकाले सो घर बगाएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए। यही असार १ गतेदेखि आएको बाढीले हेलम्बु र मेलम्चीमा पाँच व्यक्तिको मृत्यु भएको तथा दर्जनाँै बेपत्ता भएका छन् ।
त्यस्तै ४०० भन्दा बढी घर विस्थापित भएका छन् । निरन्तर वर्षाका कारण नदीमा पानीको बहाव बढिरहेकाले नदी आसपासका र तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन प्रहरीले आग्रह गरेको छ । बाढीले मेलम्चीका ५० भन्दा बढी घर जोखिममा छन् । बाढीले विस्थापितहरु अहिले माख्लो भेगका स्थानमा बसिरहेका छन् ।

