काठमाडौं । एमालेका केपी शर्मा ओली र माधव नेपाल पक्षबीच निरन्तर वार्ता र संवाद भए पनि अब त्यसको औचित्य सकिएको संकेत मिलेको छ । प्रतिनिधिसभा विघटनको कदमविरुद्धको राजनीतिक सहकार्य गरिरहेको विपक्षी गठबन्धनले आफ्नो औचित्यबारे नागरिक समाजसंग नियमित अन्तरक्रिया गर्दैछ । दुई दिनअघि मात्रै मूलधारको मिडियाका सम्पादकसँग गठबन्धनका शीर्ष नेताहरुले अन्तरक्रिया गरेका थिए । शनिवार पनि राजनीतिक बिटमा काम गर्ने पत्रकारहरुसँग गठबन्धनका नेताहरुले छलफल गरे । पत्रकारहरुलाई प्रश्नभन्दा सुझाव र टिप्पणी राख्न अनुरोध गरिएको कार्यक्रममा सुझावभन्दा प्रश्नकै ओइरो लाग्यो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
पत्रकारको प्रश्न र नेताहरुको जवाफको मुख्य निशाना थिए, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल । एमाले एकताको सम्भावना बाँकी रहे–नरहेकोदेखि नेपाल समूहको राजनीतिक वैधता र निरन्तरतासम्मको प्रश्न पत्रकारले उठाए । एमाले अध्यक्षसँग अझै आलिंगनको सम्भावना छ की छैन ?’, शुरुमै पत्रकार वृत्तबाट सवाल थियो । एमालेको संस्थापन पक्ष सरकारमा र नेपाल पक्ष विपक्षी गठबन्धनमा रहेको बारे कांग्रेस र माओवादीप्रति पनि पत्रकारका प्रश्न तेर्सिए ।
‘यो गठनबन्धनले माधव नेपाल पक्षलाई कसरी समेट्छ ? संसद पुनःस्थापना भैहाल्यो भनेपनि उहाँहरु त एमालेकै सांसद हो नि’, पत्रकारको जिज्ञासा रह्यो । यहीकारण सबैजसो शीर्ष नेताहरुले सम्बोधनका क्रममा नेपाल पक्षको भूमिका र निरन्तरताबारे धारणा राखे । केही दिनदेखि लगातार यस्तै प्रश्नको सामना गरिरहेका र आफ्नै समूहभित्र पनि एमालेमै एकताको पक्षमा दोस्रो पुस्ताका नेताहरुले केपी ओलीसँग वार्ता गरिरहेको बेला दबाबमा रहेका नेपालले शनिवार आफ्नो कित्ता प्रष्ट पारे ।
उनले केपी ओलीले प्रधानमन्त्री अफर गरे पनि अब मिल्ने सम्भावना नरहेको र गठबन्धन छाड्न नसक्ने प्रष्ट पारे । माधव नेपालले सुविचारित रुपमा आफूहरु विद्रोही एमाले भन्दै यसलाई त्यस अर्थमा बुझ्न आग्रह समेत गरे । उनले करीव–करीव एमालेमा रहने सम्भावनाको अन्त्य भएको संकेत गरे । माधव नेपालकै कारण विघटित प्रतिनिधिसभाका बहुमत सांसदको समर्थन प्राप्त गरेका शेरवहादुर देउवा र प्रचण्डले पनि अघिपछि भन्दा खुलेर उनको बचाउमात्र गरेनन्, यो गठबन्धन धेरै समयसम्म (चुनावपछि) कायम रहने बताए । माधव नेपाललाई परेका कानूनी र संवैधानिक साह्रो–गाह्रो फुकाउन देउवा र प्रचण्डले सघाउने बताएका छन् ।
माधव नेपालले शेरवहादुर देउवा प्रधानमन्त्री बन्ने प्रक्रियासम्म आफूहरु विद्रोही एमालेमै रहने र त्यसपछिको ३० दिनमा विश्वासको मत लिने बेलासम्म अर्को दल दर्ता गरेर सांसद पद जोगाउने उपायबारे गठबन्धनमा सहमति भएको संकेत समेत दिए । नेपाल स्वयंले विपक्षी गठबन्धनमा नेकपा एमाले व्रिदोही समूह सहभागि भएको भन्दै भनाई सुरु गरे । ‘हामी पनि एमाले नै हौं । अझ भनौं हामी नेकपा एमाले विद्रोही हौं । संविधान र लोकतन्त्र बचाउन विद्रोह गरेर हामी गठबन्धनमा आएका हौं । यो गठबन्धन निरन्तर रहन्छ’, नेपालको भनाई थियो । उनले आफूलाई राजनीतिक लाभका अनेक अफर आएपनि अब गठबन्धनमा धोका नदिने बताए ।
‘माधव नेपाल धोका दिने मान्छे होइन । अब न शेरबहादुरजीलाई दिएको समर्थन फिर्ता हुन्छ न अदालतको मुद्दा फिर्ता हुन्छ । जे हुन्छ गठबन्धनमै रहेर हुन्छ’, नेपालले प्रष्ट पारे । प्रधानमन्त्री केपी शर्मा ओली सच्चिने विश्वास आफूलाई नभएको पनि उनले बताए । ‘बालुवा पेलेर तेल आउँदैन मलाई थाहा छ । तैपनि तेल निस्केर आश्चर्य हुन्छ की भनेर पेलेको हो । गल्ती स्वीकार्न केपी ओली तयार छैनन्, केपी प्रवृत्ति स्वीकार्न हामी तयार छैनौं’, नेपालले भने ।
ओलीलाई निर्वाचित तानाशाहको रुपमा प्रस्तुत गर्दै नेपालले सही धरातलमा उभिएका कारण आफ्नो कन्फिडेन्स बढेको बताए । ‘लोकतान्त्रिक देशमा पनि तानाशाह जन्मिँदो रहेछ । सत्ता, शक्ति र पैसा भएपछि केही नचाहिने माथ ओलीजीलाई लागेको छ । हामी त तानाशाहको विरुद्ध सही धरातलमा छौं, त्यसैले हाम्रो कन्फिडेन्स बढेको छ’, उनले भने । नेता नेपालले संविधान र लोकतन्त्रका लागि गठबन्धन दीर्घकालसम्म कायम रहने बताए । ‘केही राजनीतिक संवैधानिक बाध्यता होलान् । तर, संसद पुनःस्थापना भएपछि ३० दिन त हामीसँग छ नि’, उनले भने ।

