एजेन्सी – बार्सिलोनाका पूर्व स्टार स्ट्राइकर स्यामुएल इटोले लियोनेल मेस्सीलाई अन्य कुनै पनि क्लबमा जाने कुरा कल्पना पनि गर्न नसकिने बताएका छन्। एक अर्जेन्टिनी मिडियालाई अन्तर्वार्ता दिनेक्रममा इटोले मेस्सीलाई अन्य क्लबको जर्मीमा कल्पना पनि गर्न नसकिने बताएका हुन्।
बार्सिलोना मेस्सीको घर रहेको उल्लेख गर्दै इटोले मेस्सीलाई अन्यत्र देख्न कसैले नचाहने बताए। उनले भने,”म लियोलाई बार्सिलोना बाहेक अर्को जर्सीमा कल्पना पनि गर्न सक्दिन। यो उनको क्लब हो, घर हो, प्रेम हो।”
इटोका अनुसार मेस्सी बार्सिलोना हुन् भने बार्सिलोना मेस्सी हो। मेस्सी र बार्सिलोनाका बीचमा कहिले पनि आर्थिक पक्ष नआउने उनको भनाई छ। मेस्सीका लागि बार्सिलोनाले नयाँ प्रोजेक्ट बनाइरहेको इटोले बताए।
“मलाई लाग्दैन कि मेस्सीको निरन्तरतामा आर्थिक पक्षले प्रभाव पार्छ। मेस्सी बार्सिलोना हुन् र बार्सिलोना मेस्सी हो।”,इटोले भने,”मलाई थाहा छ जोआन लापोर्टा मेस्सीका लागि भरपर्दो र चाखलाग्दो परियोजना तयार पारिरहेका छन्।”
त्यस्तै इटोले सर्जियो अगुएरोको आगमन पश्चात बार्सिलोना थप बलियो भएको पनि बताए। उनका अनुसार मेस्सी बार्सिलोनामै रहेको खण्डमा दुई बीच उच्च समझदारीको फुटबल देख्न पाइने छ। मेस्सी र अगुएरो मिलेर सिजनमा ६० गोल सम्म गर्न सक्ने उनको भनाई छ।
उनले भने,”मेस्सी र अगुएरो मिलेर एक सिजनमा ६० गोल सम्म गर्न सक्छन्। तर, त्यसको लागि दुवै चोट देखि टाढा हुनुपर्छ। यसको कामना म भगवानसँग गर्छु।”

