आज राती युरो २०२० का अन्तिम १६ का बाँकी २ खेल हुँदैछन्। गयराती भएका खेलहरुमा क्रोएसियालाई ५-३ गोल अन्तरले पराजित गर्दै स्पेन र विश्व विजेता फ्रान्सलाई पेनाल्टीमा ५-४ गोलले पारजित गर्दै स्विजरल्याण्डले स्पेनसँगको भेट पक्का गरेको छ। यसअघि इटाली, डेनमार्क, बेल्जियम र चेक गणतन्त्र पनि अन्तिम ८ मा प्रवेश गरिसकेका छन्।

आज राति हुने दोस्रो खेलमा स्विडेन र युक्रेन बीच भिडन्त हुँदैछ। खेल नेपाली समय अनुसार राति १२:४५ बजेबाट सुरु हुनेछ। त्यस्तै, आज बेलुका हुने पहिलो खेलमा दुई ठूला देश जर्मनी र इंग्ल्यान्ड एक-अर्काको आमने-सामने हुँदै छन्। ग्रुप ‘एफ’ बाट दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको ४ पटकको विश्व विजेता जर्मनीले ग्रुप ‘डी’ को शीर्ष स्थानमा रहँदै अगाडी बढेको इंग्ल्यान्डको सामना गर्न लागेको हो। खेल नेपाली समय अनुसार बेलुका ९:४५ बाट सुरु हुनेछ।

यी दुई टोलीबीच हालसम्म २ पटक यस प्रतियोगितामा भिडन्त भइसकेको छ, जसमा सन् २००० को युरोमा इंग्ल्यान्ड १-० ले विजयी भएको थियो। त्यस्तै, १९९६ को प्रतियोगिताको सेमी फाइनल चरणमा जर्मनी पेनाल्टीमा ६-५ गोलको जीत निकाल्न सफल भएको थियो। वेम्ब्ली स्टेडियम हुने खेलमा थ्री लायन्सलाई घरेलु मैदान तथा दर्शकको पनि फाइदा हुनसक्छ।

