एजेन्सी – टाइब्रेकरमा चुकेका युवा फरवार्ड किलीयन एमबाप्पेले माफी मागेका छन्। एम्बाप्पे पेनाल्टीमा चुक्दा फ्रान्स युरोपेली च्याम्पियनसिप २०२०बाट बाहिरिएपछि सामाजिक संजाल मार्फत एम्बाप्पेले माफी मागेका हुन्।
सोमबार निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल ३-३ को बराबरीमा सकिएपछि टाइब्रेकरमा फ्रान्स ५-४ ले पराजित भएको थियो। फ्रान्सको तर्फबाट एम्बाप्पेले मात्र गोल गर्न सकेनन्। यान सोमरले एम्बाप्पेको प्रहार विफल पार्न सफल भए।
आफ्नो कारण फ्रान्स युरो कपबाट बाहिरिएपछि एम्बाप्पेले जारी युरो कपको पाना पल्टाउन आफ्ना लागि निकै कठिन हुने सामाजिक संजालमा उल्लेख गरेका छन्। आफूले टिमका लागि राम्रो गर्न चाहेको भएपनि त्यस्तो हुन नसकेको प्रति उनलाई पश्चाताप छ।
“पेनाल्टीमा गोल गर्न नसकेका प्रति माफी चाहन्छु। मैले टिमका लागि राम्रो गर्न चाहेको भएपनि सफल हुन सकिन। मलाई निन्द्रा पर्न पनि गाह्रो हुन्छ।”,एम्बाप्पेले सामाजिक संजालमा लेखेका छन्। खेलमा यस्ता उतारचढाव आइरहने भन्दै एम्बाप्पेले आफू अझ कठिन चुनौतीको सामना गर्न तयार रहेको पनि बताएका छन्।
एम्बाप्पे सामाजिक संजालमा थप लेख्छन्,”खेलमा हार जित सामान्य कुरा हो । सबैभन्दा महत्वपूर्ण कुरा हारबाट पाठ सिक्नु हो। मलाई थाहा छ समर्थकहरु दुखित हुनुहुन्छ । म अझपनि हामीलाई दिएको साथका लागि धन्यवाद दिन चाहन्छु । सधैं हामीलाई विश्वास गर्नुभएको छ।”

