काठमाडौँ- ‘अरूहरूले जे सकिँदैन भन्छन्, हामी त्यो सकिन्छ, हुन्छ, गर्न सकिन्छ भन्ने ठान्छाैं। काम गर्न नचाहनेले मात्रै यस्ता तर्क गर्छन् । अगाडि बढ्न चाहनेले कहिल्यै सकिँदैन, हुँदैन, सम्भव छैन भन्दैन । नेपालमा यस्ता तर्क गर्नेहरू भने धेरै भेटिन्छन्,’ कुराकानीको सुरुआत यसरी भयो । एउटै परिवारको रोमाञ्चकारी कथा । सुरुमामा पिता उनैलाई पछ्याउँदै तीनभाई छोरा पाइलट । संसारमा यस्तो संयोग पनि कमै जुर्छ होला । यो लेख सौर्य दैनिकमा प्रकाशित छ।
तेस्रो पुस्तालाई समेत सोही पेसामा लगाउने सोच छ परिवारमा । परिवारले झण्डै ६५ हजार घण्टा विमान उडाएको रेकर्ड बनाएको छ । त्यही रेकर्ड बनाएको परिवारको दोस्रो पुस्ताको जेठो सदस्य हुन् सुवास रिजाल । नेपालको राष्ट्रिय झण्डा बोकेर उड्ने नेपाल वायु सेवा निगम आफैँमा गर्विलो विरासत बोकेको संस्था हो । काठमाडौंको नयाँ सडकको ढोकैमा आकाश भैरवको प्रतिमा शिरमा राखेर ठडिएको यो संस्थाले राजनीतिक उतारचढाव धेरै भोग्यो । सोही संस्थाले दिएको नाम र कामसँग नङमासु जसरी जोडिएको छ रिजाल परिवार ।
धनकुटाबाट विराटनगर हुँदै काठमाडौं आइपुगेको रिजाल परिवारले बनाएको प्रतिष्ठा धेरैका लागि लोभलाग्दो छ । पिता गंगाप्रसाद रिजाल निगमका वरिष्ठ पाइलट थिए । उनी लामो समय सेवा गरेर हाल अवकाश जीवनमा रमाइरहेका छन् । उनका तीन भाई छोरा नै पाइलट छन् । अहिले त उनीहरूले पनि वरिष्ठको उपाधि पाइसके ।
कुनै समय थाइ एयरलाइन्ससँग जोडिएर आउँथ्यो, निगमको नाम । शाही नेपाल वायु सेवा निगमबाट सुरु भएको यात्रा नेपाल वायु सेवासम्म आइपुग्दा झनै खस्किएको छ । झनै खुम्चिएको छ भन्दा अन्यथा हुदैन । विदेशी एयरलाइन्सको धमाधमको कमाइका अघिल्तिर निगमको गन्तव्य भने सीमित छ । सीमित मात्र होइन, झन खुम्चिँदै गएको छ ।
देशभित्रै निजी वायुसेवा प्रदायकले दैनिक दर्जनौँ उडान भर्दा, निगमका जहाज घाम पानी थापेर विमानस्थलमा ग्राउन्डेड हुन बाध्य छन् । आन्तरिक उडानका लागि ल्याइएका चिनियाँ जहाज उड्न सक्छ, सम्भव छ भन्नेहरूका कुरा सायदै सुनिन्छ । पछिल्लो पटक त निगमले ती जहाज व्यवस्थापन गरिदिन सरकारलाई आग्रह गरिसकेको छ । अन्तर्राष्ट्रिय उडानमा रहेका दुई न्यारोबडी र दुई वाइडबडीका पनि आ–आफनै कहानी छन् । निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारले आँट गरेर जहाज नल्याएको भए आज निगम विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ्मा मात्रै सीमित हुन्थ्यो भनेर टिप्पणी गर्नेहरू पनि उत्तिकै छन् । निगमलाई धेरै अगाडि बढाउन सकिन्छ, यहाँ त हुँदैन, सकिदैन भन्ने मान्यताले काम गरेको छ । जसले हुँदैन र सकिँदैन भन्छन् उनीहरूलाई नै निगमको खास जिम्मेवारी दिइएको आरोप पनि लाग्ने गरेको छ ।
नेपालको हवाई उड्डयन व्यवसाय ९५ अर्ब रुपैयाँ भन्दा माथिको छ जसमा नेपालमा स्थापित सबै वायुसेवाहरूको कुल हिस्सा २० देखि २५ अर्ब मात्र रहेको छ । हामी सबैले कसैको पनि कुभलो नचिताई स्वस्थ प्रतिस्पर्धा गरेरै अघि बढ्दा समृद्धि हासिल गर्न सकिने सकारात्मक मत पनि छ । निगमका वरिष्ठ पाइलटसमेत रहेका सुवासले भने, ‘उच्च व्यवस्थापनमा रहेकाहरूले जे कुरा सम्भव छैन भनिरहनुभएको छ, त्यो कुरा हामी सम्भव छ भनेर देखाउन सक्छौँ । हामीमा आँट छ, गर्ने ल्याकत पनि छ ।’ सबैतिर बन्द भएको उडान तत्कालीन अवस्थामा सुगतरत्न कंसाकार महाप्रबन्धक भएको समयमा सुरु भएको थियो । सुवासको बुझाइमा सन् २०१६ देखि २०१८ को बीचमा झण्डै ४० गन्तव्यमा उडान सुरु भएको थियो । सो समयमा सुवास निगमको अपरेशन डाइरेक्टर थिए । त्यसपछि झनै गन्तव्य र नयाँ जहाज थपिनुपर्ने थियो । तर, अवस्था ठिक विपरित भएको छ । आन्तरिक उडानका लागि भनेर ल्याइएका चिनियाँ जहाज घाम ताप्दै र झरीमा रुझ्दै बसेको छ । भएका दुई वटा ट्वीनअटर जहाजले कुन कुन गन्तव्यमा उडान भरोस् । निजी विमान कम्पनीले धमाधम उडान भरिरहँदा निगमका जहाज भने पखेटा काटिएको चराजस्तै भएर कस्न किन बाध्य भयो त ? सुवासको टिप्पणी छ, ‘यो पनि सकिँदैन, त्यो पनि सकिँदैन, हुँदैन भन्ने मान्यताले निगममा घर गरेको छ । यो प्रवृत्तिलाई बदलेर, सकिन्छ, हुन्छ, गर्न सकिन्छ भन्ने मान्यता स्थापित गरिए सबै कुरा सम्भव छ । हामी सम्भव बनाउन सक्छौँ ।’

