काठमाडौँ – बुधबार असार ६ गते यताकै सस्तो भएको सुनको मूल्य आज बढेको छ। सोमबार र मंगलबार सामान्य रुपले घटी बुधबार तोलामा ६ सय रुपैंयाँले घटेको सुनको मूल्य आज बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ८ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९० हजार ८ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज तेजाबी सुनको मूल्य पनि बढेको छ। आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ७ सय ५० रुपैंयाँले बढेको हो। आज तेजाबी सुन ९० हजार ३ सय रुपैंयाँमा कारोबार भैरहेको छ। आज कायम भएको सुनको मूल्य असार ८ गते यताकै महँगो रहेको छ।
यस अगाडी छापावाला सुन आइतबार र सोमबार ९० हजार ७ सय, मंगलबार ९० हजार ६ सय र बुधबार ९० हजार रुपैंयाँमा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुन भने आइतबार र सोमबार ९० हजार २ सय, मंगलबार ९० हजार १ सय र बुधबार ८९ हजार ५ सय ५० रुपैंयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य
आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाली बजारमा आज चाँदीको मूल्य तोलामा रु २० ले बढेर १३ सय १० रुपैंयाँ कायम भएको छ।

