आज बिहान क्वाटर-फाइनलका दुई खेल भएसँगै कोपा अमेरिका २०२१ को सेमी-फाइनल समीकरण पूरा भएको छ। फाइनल प्रवेशका लागि अब साबिक विजेता ब्राजिल र पेरु भिड्ने छन् भने अर्जेन्टिना र कोलम्बिया बीच भिडन्त हुने पक्का भएको छ। जारी प्रतियोगितामा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी उत्कृष्ट लयमा रहेका छन्।

केहि दिन अगाडी मात्र ३४ वर्ष लागेका मेस्सी प्रतियोगिताका उच्च गोलकर्ताका साथै सबैभन्दा बढी असिस्ट प्रदान गर्ने खेलाडी पनि हुन्। ६ पटकका ब्यालुन डी ओर विजेता मेस्सी अर्जेन्टिनाले प्रतियोगितामा गरेको १० गोल मध्ये ८ गोलमा संलग्न रहेका छन्। उनले हालसम्म ४ गोल गर्न सफल भएका छन् भने थप ४ असिस्ट पनि प्रदान गरेका छन्।

आइतबार भएको क्वाटर-फाइनल खेलमा इक्वेडर विरुद्धको खेलमा १ गोल र दुई असिस्ट दिएसँगै जारी कोपा अमेरिकामा उनको गोल तथा असिस्ट सङ्ख्या समान ४-४ पुगेको हो। उनले गरेको ४ गोल मध्ये दुई गोल फ्री-किक मार्फत गरेका छन्। उनले यसअघि चिलीविरुद्ध पनि फ्रिकिकमा गोल गरेका थिए । गोल्डेन बुटको दौडमा पेरुका जियानलुका लापाडुलाले मेस्सीलाई पछ्याईरहेका छन्। उनले हालसम्म प्रतियोगितामा ३ गोल गरेका छन्।

त्यस्तै, सर्वाधिक गोल गर्ने खेलाडीहरुमा ९ खेलाडीले २-२ गोल गरेका छन्। अर्जेन्टिनाकै पापु गोमेज र लाउटारो मार्टिनेज, ब्राजिलका नेइमार, बोलिभियाको एर्विन साभिद्रा, चिलीका एडुआर्डो भारगास, इक्वेडरका एर्तन प्रेसियादो, पाराग्वेका एन्जल रोमेरो, उरुग्वेका एडिन्सन काभानी र पेरुका आन्द्रे करिल्लोले समान २-२ गोल गरेका छन्। त्यस्तै, सर्वाधिक असिस्ट दिने खेलाडीमा पनि मेस्सी शीर्षस्थानमा छन् । उनले प्रतियोगितामा ४ असिस्ट दिइसकेका छन् ।

