एजेन्सी – खेल जीवनको शुरुवात पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट गरेका निकोलस एनेल्काले किलियन एम्बाप्पेलाई पिएसजी छाड्न सुझाव दिएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा एनेल्काले एम्बाप्पेलाई पिएसजी छाड्न सुझाव दिएका हुन्।
एनेल्काका अनुसार थप सफल हुन एम्बाप्पेले पिएजजी छाड्नुपर्ने हुन्छ। एम्बाप्पेले पिएजजी नछाडी ब्यालोन डि’ओर जित्न नसक्ने एनेल्काले बताए। पिएजजीमा रहेर एम्बाप्पेले अहिले सम्म धेरै राम्रो गरेको भएपनि थप अगाडी बढ्न अन्य लिगमा जानुपर्ने एनेल्काको भनाई छ।
“यदि तिमी अझ ठूला सफलता हाँसिल गर्न चाहन्छौं भने कुनै न कुनै बिन्दुमा पिएसजी छाड्नुपर्ने हुन्छ।”,एथलेटिकसँग कुराकानी गर्नेक्रममा एनेल्काले भने। स्पेन र इंग्ल्याण्डका लिगलाई उत्कृष्ट लिगको संज्ञा दिंदै उनले एम्बाप्पे त्यतै लाग्नु पर्ने एनेल्काले बताए।
एनेल्काले भने,”तिमीले पेरिसमा जे गर्यौ, राम्रो गर्यौ। पेरिसमा तिमीले जे पायौ, अहिलेको मितीमा राम्रो पायौ। तर, अझ सफल हुनु छ भने अझ राम्रो लिगमा जानुपर्ने हुन्छ। हालको अवस्थामा उत्कृष्ट लिग स्पेन र इंग्ल्याण्डमा छन्। तिमीले उत्कृष्ट लिग र खेलाडीसँग प्रतिस्पर्धा गरेका छैनौं।”
ब्यालोन डि’ओर जित्नको लागि एम्बाप्पेले समयमै सहि निर्णय गर्नुपर्ने एनेल्काको बुझाई छ। उनले क्रिस्टियानो रोनाल्डा र लियोनेल मेस्सीको सफलतालाई हेरेर निर्णय गर्नुपर्ने बताए।
उनले भने,”तिमीले क्रिस्टियानो रोनाल्डा र लिओनल मेस्सीको सफलतालाई हेर्नुपर्छ । तिमीले उत्कृष्टहरुसँग प्रतिस्पर्धा गर्नुपर्दछ। पिएसजीमा हुँदा सधै उत्कृष्ट खेलाडीहरुसँग प्रतिस्पर्धा गर्ने अवसर मिल्दैन । फ्रेन्च लिग पनि सहज छैन । यसलाई गलत अर्थमा नबुझ्नु । तर मलाई लाग्छ प्रतिस्पर्धात्मक लिग इग्ल्यान्डको हो ।”

