एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० को सेमिफाइनलमा स्पेन र इटाली आज राति आमने सामने हुँदैछन्। प्रतियोगितामा शतप्रतिशत जित निकालेको इटाली र पराजित नभएको स्पेन आज राति १२ बजेर ४५ मिनेटमा लन्डनमा एक-अर्काको सामना गर्नेछन्। इटालीले प्रतियोगिताका सम्पूर्ण खेल जितेको छ भने स्पेन पनि प्रतियोगितामा पराजित भएको छैन। दुई खेल बराबरी खेल्दा स्पेनले तीन खेलमा जित निकालेको छ।
इटाली र स्पेन बीचको खेलमा सबैको ध्यान रहेका बेला चर्चित प्रशिक्षक जोसे मोरिन्होले आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनका अनुसार स्पेन माथि इटाली हावी हुनेछ। उनी स्पेनलाई इटाली जति बलियो बन्दैनन्।
फुटबल खेलमा अप्रत्यासित नतिजा आउने भएपनि इटाली फाइनलमा प्रवेश गर्ने उच्च सम्भावना रहेको उनको भनाई छ। इटाली स्पेन विरुद्ध उच्च मनोबल सहित उत्रने उनले बताए।
“मलाई लाग्दैन कि स्पेनी टोली इटालीको टीम जत्तिकै बलियो छ। तर, स्पेनसंग प्रतिभा छ र खेल्ने निश्चित तरिका छ। खेल उनीहरुले चाहे अनुसार अगाडी बढ्ने हो भने उनीहरु इटालीलाई हम्मे-हम्मे बनाउँछन्।”,उनी भन्छन्।
इटाली शत प्रतिशत फाईनल प्रवेश गर्छ भन्ने ठोकुवा भने उनले गरेनन्। फुटबल र स्पेनिस टोलीलाई सम्मान गर्ने हुँदा आफू स्पेन हार्छ भनेर ठोकुवा गर्न नसकने उनको भनाई छ।
मोरिन्हो भन्छन्,”इटाली धेरै नै बलियो भएपनि म शतप्रतिशत इटाली फाइनल प्रवेश गर्छ भने ठोकुवा गर्न सक्दिन। कुनै तरिकाले म यो भन्न सक्दिन किनकी म फुटबल र स्पेनिस टीमलाई धेरै सम्मान गर्छु।”

