युरोपियन कप २०२० को सेमी-फाइनलका खेलहरु आजबाट सुरु हुँदैछ। पहिलो सेमी-फाइनलमा आज राति प्रतियोगिताको प्रमुख दाबेदार मानिएको इटालीले स्पेनको सामना गर्दैछ। खेल नेपाली समय अनुसार राति १२:४५ मा इंग्ल्यान्डको वेम्ब्ली स्टेडियममा हुनेछ।

प्रतियोगिताको नकआउट चरणमा स्विजरल्याण्ड र क्रोएशियालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको स्पेनले निकै बलियो मानिएको इटाली विरुद्ध जीत निकाल्दै फाइनलमा प्रवेश गर्ने दाउमा हुनेछ। त्यस्तै, अन्तिम १६ मा अस्ट्रिया र अन्तिम ८ मा प्रतियोगिताको सबैभन्दा बलियो मध्ये एक बेल्जियमलाई पराजित गर्दै सेमी-फाइनलको यात्रा तय गरेको इटाली स्पेनलाई पनि पाखा लगाउँदै अन्तराष्ट्रिय स्तरमा आफ्नो ३२ खेलको अपराजित यात्रालाई कायम राख्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ।

२०१६ को युरो कपमा पनि यी दुई टोली अन्तिम १६ मा आमने-सामने भएका थिए। उक्त खेलमा इटालीले स्पेनलाई २-० ले पराजित गर्न सफल भएको थियो। इटाली र स्पेन अहिले सम्म ३७ पटक आमने सामने भएका छन्। त्यसमा दुवैले ११-११ खेलमा जित हाँसिल गरेका छन्। बाँकी १५ खेल भने बराबरीमा रोकिएको इतिहास छ।

नेपालमा कसरी हेर्न सकिन्छ त स्पेन र इटाली बीचको खेल ?
नेपालमा स्पेन र इटाली विरुद्धको खेल सोनी टेन २ र टेन ३ मा हेर्न सकिनेछ। खेल नेपाली समय अनुसार आज राति १२:४५ बाट इंग्ल्यान्डको वेम्ब्ली स्टेडियममा सुरु हुनेछ । झन्डै ५५ हजार दर्शक क्षमता रहेको स्टेडियममा कोरोना महामारीको कारण २५ प्रतिशत भन्दा धेरै दर्शक भने आउन पाउने छैनन्। आजको खेलको विजेताले उपाधिका लागि भोली हुने इंग्ल्यान्ड र डेनमार्क बीचको खेलको विजेताको = सामना गर्नेछ।

