काठमाडौँ – नेपाल प्रहरीले रु १४ लाख ५९ हजार ९०० नगद र रु एक लाख ८० हजारको चेकसहित २८ जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–६ बौद्ध सिमलटारस्थित वाङ्चु शेर्पाको घरमा ठूलो हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा मङ्गलबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले पैसाको ठूलो हारजित हुने गरी तास र जुवा खेलाएको प्राप्त सूचनाका आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिए।
पक्राउ परेकासँग प्रहरीले रु एक लाख ५९ हजार ९००, ११ हजार ४०० भारतीय रुपैयाँ, एक लाख ८० हजारको विभिन्न बैंकको चेक, ३० थान कौडा, १३ बुक खेलिरहेको तास र २१ बुक नखोलेको तास बरामद गरेको छ । पक्राउ परेकाहरुको आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले बताए। पक्राउ पर्नेमा ८ महिला पनि छन्।
पक्राउ पर्नेमा जुवा खेलाउने ४० वर्षीय लालबहादुर बिक, धादिङका ३७ वर्षीय मानबहादुर तामाङ, दोलखाका ४१ वर्षीय अशोक घिसिङ, बौद्धका २४ वर्षीय रन्जित खड्गी, कुमारीगालका ३३ वर्षीय अमरबहादुर गुरुङ, रामहिटीका ४७ वर्षीय पुरुषोत्तम चालिसे र रसुवाका २६ वर्षीय प्रकाश घले रहेका छन्।
त्यस्तै कीर्तिपुरका ४२ वर्षीय कृष्णचरण विक, बूढानीलकण्ठका ३५ वर्षीय दोर्जे शेर्पा, बौद्धका ४९ वर्षीय प्रविन लामा, सिन्धुपाल्चोकका ३६ वर्षीय वाङचु शेर्पा, बौद्धका रिन्जेन लामा, कपनका ३६वर्षीय पासाङ शेर्पा, जोरपाटीका २१ वर्षीय सम्राट लामा र बौद्धका ३८ वर्षीय चन्द्र लामा पनि वाङ्चु शेर्पाको घरबाट पक्राउ परेका छन्।
पक्राउ पर्ने अन्यमा मकवानपुरका ३३ वर्षीय चिनकुमार गोले, बौद्धका ४२ वर्षीय राजन लामा, सिन्धुपाल्चोकका ४१ वर्षीय अशोक गिरी, दोलखाका ३५ वर्षीय विकास तामाङ, चितवनका ४७ वर्षीय जगतबहादुर गुरुङ, चितवनकी ३५ वर्षीया रेखा गुरुङ, काभ्रे ३८ वर्षीया लक्ष्मी घलान बानिया, काठमाडौं थलीकी २५ वर्षीया गीता लामा, चितवनकी ४२ वषीया ओममाया गुरुङ, गौशालाकी ५० वर्षीया सुशीला श्रेष्ठ, धादिङकी ३० वर्षीया सरिता मल्ला गुरुङ, धादिङकी रन्जिता शाक्य र चितवनकी ३२ वर्षीया शान्ति लामा रहेका छन्।

