“कोपा अमेरिका फाइनलमा रेफ्रीले ब्राजिललाई साथ दिनेछ तर म चाहिं मेस्सीले ४ गोल हानेको हेर्न चाहन्छु”

पराग्वेका पूर्व खेलाडी जोसे लुइस किलावर्टका अनुसार आइतबार हुने कोपा अमेरिका फाइनल खेलमा उक्त खेलका म्याच रेफ्री एस्टेबन ओस्टोजिचले ब्राजिललाई साथ दिन सक्ने बताएका छन्। उनले दक्षिण अमेरिकी फुटबल फेडेरेसन (कोन्मेबोल) को आलोचना गर्दै अर्जेन्टिनालाई चतावनी दिएका हुन्।

किलावर्टले ओस्टोजिचको बारेमा आफ्नो धारणा राख्दै अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले कोपा उपाधि जित्नको लागि ब्राजिललाई मात्र नभएर कोन्मेबोल र रेफ्रीलाई पनि पराजित गर्नु पर्ने इशारा गरेका छन्। फाइनल खेल ११ जुलाई आइतबार नेपाली समय अनुसार बिहान ५:४५ मा ब्राजिलको माराकाना स्टेडियममा हुनेछ।

रेडियो कन्टिनेन्टलसँग बोल्दै किलावर्टले भने,”मेस्सी र अर्जेन्टिनी टोली तयार रहनुपर्छ: ब्राजिल, नेइमार, भिएआर र रेफ्री सबैलाई पराजित गर्नको लागि।” उनले कोन्मेबोलको आलोचना गर्दै करपबोल पनि भनेका छन्।

“करपबोल [कोन्मेबोल] भयानक छ। उनीहरुले पाराग्वे र पेरु बीचको खेलमा ओस्टोजिचले जे गरे, त्यसपछि पनि उनलाई फाइनलको लागि रेफ्री घोषणा गरे। उक्त रेफ्रीले धेरै गल्ती गरेका थिए। उनले अन्यायपूर्वक [प्याराग्वे कप्तान गुस्ताभो] गोमेजलाई रातो कार्ड देखाएका थिए। पछि, उनले पेरूका खेलाडी आन्द्रे क्यारिलो पनि रातो कार्ड देखाए,” उनले भने।

उनले फाइनल खेलमा आफ्नो समर्थन अर्जेन्टिना र मेस्सीको लागि हुने पनि बताएका छन्। आफूले अर्जेन्टिनी कप्तानले ३-४ गोल गरेको हेर्न चाहेको बताए। मेस्सी र उनका टिममेटले आफ्नो १०० प्रतिशत भन्दा बढी दिनुपर्छ किनकि रेफ्रीले ब्राजिलको समर्थन गर्नेछ।

प्रकाशित : शुक्रबार, असार २५, २०७८१४:३५

पाँच औंला देखाउँदै ब्राजिलका राष्ट्रपतिले भने “अर्जेन्टिनालाई ५ गोल हान्ने हो”