पाँच औंला देखाउँदै ब्राजिलका राष्ट्रपतिले भने “अर्जेन्टिनालाई ५ गोल हान्ने हो”

ब्राजिलका राष्ट्रपति जेर बोल्सोनारोले कोपा अमेरिकाको फाइनलमा ब्राजिलले अर्जेन्टिनालाई ५-० ले पराजित गर्ने दावी गरेका छन् । फाइनल खेल ११ जुलाई आइतबार नेपाली समय अनुसार बिहान ५:४५ मा ब्राजिलको माराकाना स्टेडियममा हुनेछ।

दक्षिण अमेरिकी नेताहरुको बैठकमा बोल्सोनारोले अर्जेन्टिनी राष्ट्रपतिलाई यसो भनेका हुन् । अर्जेन्टिनाका अल्बर्टो फर्नान्डेजलाई उनले फाइनलअघि भेट भएपछि उपाधि जित्ने दावी समेत गरे । “अर्जेन्टिना र ब्राजिलबीच दुश्मनी भनेको शनिबार मारकाना रंगशालामा हो,” बोल्सोनारोले ५ औंला देखाउँदै भने,’ ब्राजिलले ५-० ले जित्नेछ ।”

त्यसो त ब्राजिल र अर्जेन्टिनाबीच पछिल्लो समयको इतिहासले पनि ब्राजिललाई नै बलियो देखाउँछ । हालसम्म यी दुई टोलीले कोपा अमेरिकाको फाइनलमा तीन पटक प्रतिस्पर्धा गरेका छन् । तीनै अवसरमा ब्राजिलले नै उपाधि जितेको छ । पछिल्लो पटक सन् २००७ मा त मेस्सी टोलीमा रहँदा पनि ब्राजिल ३-० ले विजयी रहेको थियो ।

समग्रमा ब्राजिल र अर्जेन्टिनाबीच १ सय ७ पटक अन्तर्राष्ट्रिय फुटबलमा प्रतिस्पर्धा भएको छ । जसमा ब्राजिलले ४२ पटक र अर्जेन्टिनाले ४० पटक जित हासिल गरेका छन् । २५ खेल भने बराबरीमा सकिएको छ ।

अर्जेन्टिनाले ब्राजिललाई नहराएको १७ वर्ष पुगिसकेको छ । पछिल्लोपटक सन् २००५ मा ब्राजिल अर्जेन्टिनासँग ३-१ ले पराजित भएको थियो । विश्वकप छनोटको उक्त खेलमा जोआन रोमान रिकेल्मेको गोलमा घरेलु टोली विजयी भएको थियो । त्यसयता ब्राजिल नै खेलमा हावी हुँदै आएको छ ।

प्रकाशित : शुक्रबार, असार २५, २०७८१४:४८

अर्जेन्टिनासँग भिड्नु अघि नेइमारले भने “फाइनल खेलमा साथी भनेर हुन्छ त, हाम्रो मित्रता दाउमा हुनेछ”