अर्जेन्टिनासँग भिड्नु अघि नेइमारले भने “फाइनल खेलमा साथी भनेर हुन्छ त, हाम्रो मित्रता दाउमा हुनेछ”

ब्राजिलियन सुपरस्टार नेइमारले आइतबार हुने कोपा अमेरिका खेलमा आफ्नो र मेस्सी बीचको मित्रता दाउमा रहेको बताएका छन्। आइतबार नेपाली समय अनुसार बिहान ५:४५ मा हुने फाइनल खेलमा घरेलु टोली ब्राजिलले चिर-प्रतिद्वन्दी अर्जेन्टिनाको सामना गर्दैछ।

मेस्सी र नेइमारले बार्सिलोनामा २०१३ देखि २०१७ सम्म ४ वर्ष एकसाथ खेलेका थिए। २०१७ मा बार्सिलोना छाडेर पीएसजी प्रस्थान गरेपनि नेइमार र मेस्सी अझै पनि निकै राम्रा साथी रहेका छन्। पहिलो अन्तराष्ट्रिय उपाधिको खोजीमा रहेका पूर्व बार्सिलोना कप्तान मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना विरुद्धको खेल अघि बोल्दै नेइमारले भने,”मैले सधैं भनेको छु कि मेस्सी विश्वकै सर्वोत्कृष्ट खेलाडी हुन् र मेरा निकै राम्रा साथी पनि हुन्। तर अब फाइनलमा हामी एक-अर्काको विरुद्धमा छौं। म यो फाइनल जित्न चाहन्छु र मेरो करियरको पहिलो कोपा अमेरिका जित्न चाहन्छु।”

मेस्सीले पनि हरेक प्रतियोगितामा आफ्नो टोलीलाई उपाधि जिताउन सक्दो प्रयास गरेको र ब्राजिल नभएको फाइनलमा आफूले जहिले पन्बी अर्जेन्टिनालाई समर्थन गरेको नेइमारले बताए। २०१४ को विश्वकप फाइनलमा जर्मनी विरुद्ध पनि आफूले अर्जेन्टिनाको समर्थन गरेको उनले बताए। “तर अहिले ब्राजिलसँग खेल छ, त्यसैले हाम्रो मित्रता दाउमा रहेको छ। हामी बीचको सम्मान अझै रहिरहन्छ तर एकले मात्र जित्न सक्छ,” नेइमारले भने।

सेमी-फाइनल चरणमा साबिक विजेता ब्राजिलले पेरुलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो भने अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी सुटआउटमा पाखा लगाउँदै उपाधिका लागि ब्राजिलसँगको भेट पक्का गरेको हो। फाइनल खेल आइतबार हुनेछ।
प्रकाशित : शुक्रबार, असार २५, २०७८१८:३७

मेस्सीले कोपा अमेरिका जिते गोट(ग्रेटेस्ट अफ अल टाइम)को बहसमा पूर्णविराम !