काठमाडौंका सडकभरि खाल्टैखाल्टा

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाभित्रका सडकभरि खाल्टाखुल्टी देखिन थालेका छन् । भित्री सडकमा मात्रै नभएर मुख्य सडकमा समेत खाल्टाखुल्टी बाक्लो रूपमा देखिन थालेका हुन् । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

अघिल्लो वर्षका लकडाउन तथा यस वर्षको निषेधाज्ञाको अवधिमा सडक विभागले चिटिक्क पारेका सडक वर्षा सुरु भएसँगै सडकमा खाल्टाखुल्टी देखिन थालेका हुन् भने मेलम्चीको पानी लिकेजका कारण पनि खाल्टाखुल्टी बढ्न पुगेको सम्बद्ध निकाय बताउँछन् ।

काठमाडौंको त्रिपुरेश्वर, कालिमाटीलगायतका सडक खण्डमा खाल्टाखुल्टी परेका छन् । कलंकीदेखि बालाजु, चाबहिल हुँदै कोटेश्वरसम्मको चक्रपथका विभिन्न भागमा पनि बाक्लो रूपमा खाल्टाखुल्टी देखिएका छन् ।

थापाथलीस्थित प्रसूति गृह अघि हिँड्नै समस्या पर्नेगरी सडक बिग्रिएको छ । काठमाडौं महानगरपालिकले ठेक्का लगाएको सो सडक खण्ड लामो समयदेखि मर्मत हुन सकेको छैन । महानगरपालिकाले पनि सडक बनाउन चासो नदेखाएको पाइएको छ ।

काठमाडौंका खोला कोरिडोरका सडकको अवस्था पनि दयनीय बनेका छन् । काठमाडौंका विभिन्न नाका जोड्ने सडकको अवस्था झनै दयनीय बनेका छन् । दक्षिणकाली, साँखु, टोखा, बालाजु, सीतापाइलालगायतका नाकाका सडकहरूको अवस्था राम्रो देखिएको छैन ।

महाराजगन्जबाट बूढानीलकण्ठ जाने सडकमा बिजुलीको तार बिछ्याउन खनिएको सडक करिब एक वर्षदेखि मर्मत गरिएको छैन । चाबहिल–बौद्ध–जोरपाटी–साँखु खण्डको सडकको अवस्था वर्षांैदेखि वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे रहेको छ ।

ललितपुरको ज्वागलबाट शंखमूलतर्फ जाने कोरिडोर सडक बनाउन पनि आवश्यक चासो र तत्परता देखाइएको छैन । सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले हिलाम्मे सडक विभागको कार्यक्षेत्रमा नपर्ने जनाउँदै स्थानीय तहलगायत विभिन्न सडक बनाउने निकायअन्तर्गतका रहेको बताउँछन् ।

प्रकाशित : आइतबार, असार २७, २०७८०८:२२

कस्तो रहला आज , भोलि र पर्सिको मौसम ? यस्तो छ मौसमविद्को अनुमान !