कोपा अमेरिका जितेसँगै मेस्सीले सातौँ ब्यालुन डी ओर जित्ने पक्का भएको हो त ?

लियोनल मेस्सीका लागि गत सिजन निकै उतार-चढाव वाला रह्यो। सिजनको सुरुवातमा उनले बार्सिलोना छाड्न चाहेको खबरले पूरा विश्व फुटबल जगत नै हल्लायो। र सिजनको अन्त्यमा उनको हातमा आफ्नो करियरको पहिलो अन्तराष्ट्रिय उपाधि रह्यो। सिजनको सुरुवात निकै फितलो रहे पनि ६ पटकका ब्यालुन डी ओर विजेताको २०२१ भने निकै उत्कृष्ट रह्यो।

बार्सिलोनाका लागि गत सिजन त्यति खास नरहे पनि पूर्व क्लब कप्तान मेस्सीको प्रदर्शन भने निकै उत्कृष्ट रहेको थियो। गत सिजन लालिगामा कुल ३५ खेल खेलका ३४ वर्षीय स्ट्राइकरले कुल ३० गोल गरेका थिए भने थप ९ गोलमा असिस्ट प्रदान गरेका थिए। बार्सिलोनालाई सिजनको एक मात्र कोपा डेल रेको उपाधि जिताउन पनि उनको प्रमुख भूमिका थियो।

तर उनको उत्कृष्ट प्रदर्शन भने २०२१ लागेदेखि सुरु भएको थियो। २०२० को अन्त्यतिर त्यति खास प्रदर्शन गर्न नसकेका मेस्सीले २०२१ मा भने निकै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। २०२१ को सुरु देखि मेस्सी भन्दा अन्य कुनै पनि खेलाडी प्रत्यक्ष रूपमा धेरै गोलमा संलग्न भएका छैनन्। २०२१ मा कुल ३८ खेल खेलेका अर्जेन्टिनी कप्तानले ३३ गोल गर्नुका साथै १४ असिस्ट पनि प्रदान गरेका छन्। उनले खेलेका ३८ खेल मध्ये २६ खेलमा उनी म्याच अफ त म्याच घोषित भए।

यस वर्ष उनले बार्सिलोनाका साथ कोपा डेल रे उपाधि जित्न सफल भए भने अर्जेन्टिनाको साथमा कोपा अमेरिका उपाधि जिते। उनी लालिगामा उच्च गोलकर्ता बन्न सफल भएका थिए। त्यस्तै, हालै सम्पन्न कोपा अमेरिकामा पनि पूर्ण रूपमा मेस्सीको दबदबा रह्यो। उनी प्रतियोगिताका उच्च गोलकर्ता रहँदै गोल्डेन बुट हात पार्न सफल भए भने सबै भन्दा बढी असिस्ट पनि दिएका मेस्सी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी पनि घोषित भए। साथै उपाधि पनि मेस्सीको टोली अर्जेन्टिनाले जित्यो।

यसका साथै अब यो वर्षको ब्यालुन डी ओर उपाधि मेस्सीले जित्ने सम्भावना निकै प्रवल भएको छ। पावर र्याँकिंगको हिसाबले पनि २०२१ को ब्यालुन डी ओरका प्रमुख दाबेदार मेस्सी नै रहेका छन्। के मेस्सीले करियरको ७ औं ब्यालुन डी ओर जित्न सफल होलान् त ?

प्रकाशित : सोमबार, असार २८, २०७८१३:२३

ब्यालुन डी ओर पावर र्याँकिंग: कसैले रोक्न सक्ला त मेस्सीलाई सातौँ ब्यालुन डी ओर जित्नबाट ?