एजेन्सी – युरोपेली च्याम्पियन इटालीका गोलरक्षक जियानलुइगी डोनारुम्मा पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने भएका छन्। युरोपेली च्याम्पियनसिपका सर्वोत्कृष्ट खेलाडी घोषित भएका डोनारुम्मा पीएसजी जाने पक्का भएको हो।
डोनारुम्मा पीएसजीमा पाँच वर्षको लागि अनुबन्धित हुन लागेको बताइएको छ। फ्रेन्च मिडियाहरुका अनुसार डोनारुम्मा र पीएसजी बीच सहमति भैसकेको थियो। तर विभिन्न कारणहरुले गर्दा उनको औपचारिक सम्झौता हुन सकेको थिएन। अब आउने केहि दिनमै पीएसजी र डोनारुम्मा बीच सम्झौता हुने मिडियाहरु दावी गर्छन्।
मेडिकल र अन्य बाँकी कागजी प्रक्रिया पूरा भएलगतै डोनारुम्मालाई सार्वजनिक गर्ने पीएसजीको तयारी रहेको छ। बताइएअनुसार उनी सन् २०२६ सम्म पीएसजीमा रहने सम्भावना रहेको छ।
कति होला उनको पारिश्रमिक ?
इटालीलाई युरोपेली च्याम्पियन बनाउन डोनारुम्माको धेरै नै महत्वपूर्ण भूमिका रह्यो। प्रतियोगिताको फाइनलमा डोनारुम्माले इंग्ल्याण्डका तीन पेनाल्टी बचाएका थिए। युरोपेली च्याम्पियनसिप पश्चात उनको चर्चा झनै बढेको छ।
आउने समयमा उनी पीएसजीका लागि धेरै नै महत्वपूर्ण खेलाडी हुनेछन्। प्च्याम्पियन्स लिग जित्ने योजना सहित ट्रान्सफर बजारमा आक्रामक रुपमा अगाडी बढिरहेको पीएसजी डोनारुम्मालाई वार्षिक १० मिलियन पाउन्ड र बोनस दिन तयार रहेको छ।
यस अगाडी कुन क्लबमा थिए डोनारुम्मा ?
डोनारुम्मा यस अगाडी इटालियन क्लब एसी मिलानमा थिए। एसी मिलानमा उनी सन् २०१४ देखि छन्। १४ वर्षको उमेरमा एसी मिलान पुगेका उनले सन् २०१५ मा एसी मिलानको सिनियर टोलीमा डेब्यु गरेका थिए। सिनियर टोलीमा डेब्यु गर्दा उनी मात्र १६ वर्षका थिए। एसी मिलानका लागि उनले २५१ खेल खेलिसकेका छन्।

