युरोको उत्कृष्ट ११ मा रोनाल्डो परेनन्, को-को परे ? [सूची सहित]

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० को उत्कृष्ट ११ मा प्रतियोगिताका सर्वाधिक गोलकर्ता क्रिस्टियानो रोनाल्डोले स्थान बनाउन सकेका छैनन् । यूईएफएले मंगलबार घोषणा गर्दा उपाधि विजेता इटालीका ५ खेलाडीले टोलीमा स्थान बनाएका हुन् ।

गोलरक्षकमा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी समेत घोषित जियानलुइजी डोनारुम्मा रहेका छन् । डिफेन्समा फाइनल खेलेका इंग्ल्यान्ड र इटालीका खेलाडीहरुको जोडी रहेको छ । इंग्लिस डिफेन्डरद्वय काइल वाल्कर र ह्यारी मगाएरलाई उपाधि विजेता लिओनार्दो बोनुची र लिओनार्दो स्पिनाजोलाले साथ दिएका छन् ।

मिडफिल्डमा भने इटालीका जर्जिन्होसँगै सेमिफाइनलमा पराजित दुई खेलाडी छन् । प्रतियोगिताको युवा खेलाडी समेत घोषित पेड्रीलाई डेनमार्कका पिएर एमिल होएबिएरले साथ दिएका छन् ।

आक्रमणमा बेल्जियमका रोमेलु लुकाकुलाई फाइनल पुगेका इंग्ल्यान्डका रहिम स्टर्लिङ र इटालीका फेडेरिको किएजाले साथ दिएका छन् । प्रतियोगितामा ५ गोल र १ असिस्टका साथ गोल्डेन बुट जितेका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो भने टोलीमा अटाएनन् । उनले समान ५ गोल गरेका चेक गणतन्त्रका प्याट्रिक सिकलाई पछि पारेका थिए ।

प्रकाशित : मङ्गलबार, असार २९, २०७८२१:४२

बालोन डे ओर दौडमा नाटकीय परिवर्तन !