काठमाडौं । सर्वोच्चको फैसलामार्फत पदबाट हटाइएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिंहदरवारबाट आफ्नो अन्तिम सम्बोधन गरेका छन् । उनको सम्बोधन मूलरूपमा सर्वोच्च अदालतको फैसलामाथि केन्द्रित थियो । ओलीले सर्वोच्चको फैसलाको खुलेरै आलोचना गरे, तर फैसलाको पालनामा भने आफू प्रतिबद्ध रहेको बताए । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
विश्व इतिहासमै पहिलोपटक अदालतले प्रधानमन्त्री नियुक्त गरेको भन्दै व्यंग्य कसेका ओलीले सर्वोच्चलाई झेली रेफ्रीको संज्ञा दिए । रेफ्रीले नै गोल गर्न खोजेको उनको आरोप थियो । सम्वोधनको शुरूआतमै उनले अदालतको फैसलाबाट गरेका थिए । ओलीले भने, ‘म जनादेशबाट होइन, परमादेशबाट हटाइएको हुँ । जनादेश त अहिले पनि मेरो पक्षमा थियो । तर, परमादेश शेरबहादुरजीको पक्षमा आयो ।’
सर्वोच्चको फैसलाले पछाडि फर्किने गरी संविधान संशोधन गरेको टिप्पणी उनले गरे । यो फैसलालाई इतिहासले अग्निपरीक्षा लिने चेतावनी पनि उनले दिए । शक्ति पृथकीकरणको सिद्धान्तलाई फैसलाले नकारेको तथा राज्यका अंगहरूको सन्तुलन खल्बल्याएको टिप्पणी उनको थियो ।
ओलीले संसदीय दलको ह्वीप उल्लंघन गर्दा कारवाही नहुने अदालतको फैसलाप्रति आपत्ति जनाए । राजनीतिक दलबाट टिकट लिएर जितेको जनप्रतिनिधिले आफूखुशी भोट हाल्न पाउने व्यवस्था दलीय प्रणालीको मूल्य र मान्यताविपरीत रहेको उनको टिप्पणी थियो । एउटै पार्टीका सांसद सत्तापक्ष र प्रतिपक्ष दुवै हुन सक्ने गरी विचित्र अवस्थाको सिर्जना गरिदिएको ओलीले बताए । अदालतले रेफ्रीको भूमिकामा सही न्याय दिन नसकेको उनको भनाइ छ ।
ओलीले भने, ‘खेल खेल्ने जिम्मेवारी खेलाडीहरूको हो । तर, रेफ्री स्वयम्मा गोल गर्ने वा खास पक्षलाई जिताउने इच्छा जागृत भयो भने त्यसले जोखिम निम्त्याउँछ । अझ सन्दर्भमै नउठेका वा माग नै नभएका विषयमा समेत फैसला दिँदै जटिलता मात्रै बढाउँछ ।’ अदालतले आफ्नो अधिकारक्षेत्र बाहिर गएर राजनीतिक विषयमा हात हालेको आरोप ओलीले लगाए । यसबाट भविष्यमा उत्पन्न हुन सक्ने दुष्परिणामप्रति चिन्ता व्यक्त गरे । अपेक्षितभन्दा छोटो सम्बोधन गरेका ओलीले सरकारका उपलब्धीहरूको संक्षिप्त चर्चा गरेका थिए । सरकारले कोरोनाविरुद्धको खोप ल्याउनेतर्फ गरेका कामहरूको विवरण सुनाएका ओलीले अब आउने सरकारले खोप लगाएको फोटो हालेर त्यसलाई आफ्नो उपलब्धीका रूपमा देखाउने भविष्यवाणी गरे ।
सरकारले १ करोड ३१ लाख मात्र खोप आपूर्ति सुनिश्चित गरेको उल्लेख गर्दै ओलीले भने ‘अब भरे वा भोलि बिहानबाट ल्याइदिएको खोप, लगाइरहेको खोप लगाएको फोटो राखेर हामीले खोप दिन थाल्यौं भनेर तमासा शुरू हुनेछ । मानौं चटक गरेर आजै ल्याएका हुन् कि जस्तो । तर, मलाई यस्तो प्रचारमा प्रतिस्पर्धा गर्नु छैन ।’ शेरबहादुर देउवाको नेतृत्वमा बन्ने नयाँ सरकार र संसदको भविष्यलाई लिएर ओलीले सन्देह व्यक्त गरे । सरकार र संसद सही सलामत रहनेमा आफूलाई शंका रहेको उनले बताए ।

