फुट्नेनै भयो एमाले, पार्टी फुटाउन देउवाले सहज बनाइदिने !

काठमाडौं । नेकपा एमालेमा फेरि खटपट देखिएको छ । यसअघि विवाद मिलाउन बनेको कार्यदलले सुझाएका १० बुँदाको औचित्य अब समाप्त भएको एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरुले भन्न थालेका छन् । एमाले महासचिव ईश्वर पोखरेलले एक टिभी कार्यक्रममा पनि यसको संकेत गरेका छन् । पोखरेलको अभिव्यक्तिलाई लिएर माधव नेपाल समूहका नेताहरु छलफलमा जुटिसकेका छन् । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

स्रोतका अनुसार प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नियुक्त भएपछि एमालेमा ओली समूहले यो १० बुँदे सुझावको औचित्य सकिएको निष्कर्ष निकालेका हुन् । ‘हिजो प्रधानमन्त्रीमा देउवा नियुक्त हुँदा जे देखिएको छ,’ एक एमाले नेताले भने, ‘त्यसले पनि माधवकुमार नेपाल पार्टीलाई एक बनाइरहन चाहनुहुन्छ भन्ने देखिँदैन ।’ उनले पछिल्ला केही दिन यताका माधवकुमार नेपालका गतिविधिका कारण पनि नेकपा एमाले अहिले एक भएर अगाडि बढ्ने सम्भावना सकिँदै गएको दाबी गरेका छन् ।

‘हिजो सर्वोच्चमा हस्ताक्षर गर्नेदेखि लिएर सर्वोच्चको फैसला आएपछि उहाँहरुका अभिव्यक्ति हाम्रो पार्टी अनुकूल छैनन्,’ ती नेताले भने, ‘यस्तो माहोल र सन्दर्भमा अब पनि एमाले एक हुन्छ वा उहाँहरु पार्टीका आधिकारिक धारणा मानेर अगाडि बढ्नुहुन्छ भन्ने कल्पना गर्न सकिँदैन । त्यसैले अहिलेलाई यसअघि गरिएका सम्झौताका बुँदाहरुको कुनै औचित्य छैन ।’ उनले अहिले प्रारम्भिक रुपमा यस्तो देखिए पनि यसबारे आफूहरुले छलफल गरिनसकेको बताएका छन् । ‘यसबारे हामी छलफलमा जुट्न बाँकी नै छ, अध्यक्ष ओली कमरेड बुधबार बालकोट जानुहुन्छ,’ उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट बालकोट जाने प्रसंग जोड्दै भने, ‘त्यसपछि एउटा विस्तृत खाका पक्कै आउनेछ ।’

मंगलबार देउवाले प्रधानमन्त्रीको सपथ लिएपछि माधवकुमार नेपालले पहिलो बधाई दिएका थिए । उनको यो हाउभाउलाई पनि ओली पक्षका नेताहरुले राम्रो मानेका छैनन् । त्यसो त सोमबार सर्वोच्च अदालतले प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमादेश दिएपछि बसेको गठबन्धन बैठकमा एमाले वरिष्ठ नेता नेपालले आफू अब गठबन्धनबाट बाहिरिएको र पार्टीको निर्णयअनुसार अगाडि बढ्ने बताएका थिए । उनले गठबन्धनबाट बाहिरिएपछि देउवालाई विश्वासको मत नदिन सक्ने अनुमान पनि भएको थियो । यसबारे उनको समूहले अहिलेसम्म आधिकारिक धारणा बाहिर ल्याएको छैन । तर, सर्वोच्चको फैसला आएपछि ओली समूहले फैसलाप्रति असन्तुष्टि जनाइरहँदा माधव नेपाल समूहका नेताहरुले भने यसलाई स्वागत गरेका थिए ।

अब एमालेमा ओली पक्षका नेताहरुले १० बुँदे सहमतिको खाकाको औचित्य सकिएको धारणा दिन थालेपछि माधवकुमार नेपाल समूहका नेताहरु अब मिलन नभएमा नयाँ पार्टी खुल्ने तयारी अगाडि बढ्ने बताउन थालेका छन् । ‘खटपट अहिले सुरु भएको भन्न मिल्दैन,’ माधवकुमार नेपाल समूहका एक नेता भन्छन्, ‘कार्यदलले दिएको १० बुँदे सहमतिको खाकाले पनि अन्तिम रुप पाएकै थिएन । अहिले नै उहाँहरु यसको औचित्य सकियो भन्न थाल्नुहुन्छ भने हामी पनि नयाँ दिशामा अगाडि बढ्न बाध्य हुन्छौँ, नयाँ पार्टी खुल्छ ।’ नेपाल समूहले नयाँ पार्टी खोल्ने गृहकार्य सुरु गरेको त अब लामो समय भइसकेको छ । तत्काल नयाँ पार्टी खोलेर नेकपा माओवादी केन्द्रसँग यसको एकिकरण हुने सम्भावना अब बढेको नेताहरुले बताउन थालेका छन् ।

दल विभाजनको प्रवन्ध मिलाइ दिन्छु : देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई बुधबार भेटेर सरकारमा आफ्नो पक्षलाई सहभागी गराउन प्रस्ताव गरेका छन् । नेपाल निवास कोटेश्वरमै पुगेर देउवाले यस्तो प्रस्ताव राखेका हुन् । स्रोतका अनुसार देउवाले आवश्यक परेको खण्डमा पार्टी विभाजनका लागि आवश्यक कानूनी तारतम्य मिलाइदिन सक्ने आश्वासन पनि नेपाललाई दिएका थिए । देउवाको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘म तपाईंको अप्ठेरो फुकाउन तयार छु । तपाईंले मलाई सहयोग गर्नुभएको छ । म पनि तपाईंलाई सहयोग गर्छु । जसरी संसद जोगाउनका लागि हामी सँगै अदालत गयौं, भोली पनि संसद जोगाउन सँगै रहनुपर्छ । तपाईं एमालेमा रहन नसक्ने भए दल विभाजन गर्न आवश्यक कानूनी प्रवन्ध मिलाउन पनि तयार छु ।’

प्रकाशित : बिहिबार, असार ३१, २०७८०९:०५

कस्ता व्यक्तिले कोरोनाविरुद्ध खोप लगाउन मिल्दैन ? यसो भन्छ स्वास्थ्य मन्त्रालय !