सिकको यो गोल बन्यो युरोकै उत्कृष्ट ! [भिडियो सहित]

एजेन्सी – चेक रिपब्लिकका फरवार्ड प्याट्रिक सिकले युरो २०२० को समूह चरणमा स्कटल्यान्डविरुद्ध गरेको गोल प्रतियोगिताकै उत्कृष्ट गोल चुनिएको छ ।

यूईएफएले बुधबार सामाजिक संजालमार्फत सिकको गोलले सर्वाधिक मत पाउँदै उत्कृष्ट गोल चुनिएको जानकारी दिएको छ । सिकले झन्डै ५० मिटर टाढाबाट गरेको प्रहारमा गोलरक्षक डेविड मार्शल बिट हुँदै गोल भएको थियो । उक्त गोलसँगै चेकले जित हासिल गर्दै समूह चरण पार गर्न सफल रहेको थियो ।

सिकको गोललाई फ्रान्सका पल पोग्बा र क्रोएसियाका लुका मोड्रीचको गोलले चुनौती दिएका थिए । पोग्बाले स्विट्जरल्यान्डविरुद्ध पेनाल्टी क्षेत्र बाहिरबाट गरेको सानदार गोलले दोस्रो स्थान हासिल गर्यो । त्यस्तै स्कटल्यान्ड विरुद्ध नै मोड्रीचले गरेको गोल तेस्रो भयो ।

युरोमा ५ गोल र १ असिस्टका साथ क्रिस्टियानो रोनाल्डोले गोल्डेन बुट जितेका थिए । उनलाई समान ५ गोल गरेका सिकले दोस्रो स्थानमा पछ्याए । इटालीका गोलरक्षक जियानलुइजी डोनारुम्मा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । स्पेनका पेड्रीले युवा खेलाडीको उपाधि जित्दा इंग्ल्यान्डका जोर्डन पिकफर्डले गोल्डेन ग्लोभ्स हात पारे ।

प्रकाशित : बिहिबार, असार ३१, २०७८१५:२०

एमाले छोडेर मन्त्री बनाइदिन भन्दै देउवालाई आग्रह गरेको खबरबारे यसो भन्छन आले!