काठमाडौँ – युनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बाँडफाँड भएको छ। असार २४ गते देखि २८ गते सम्ममा बिक्री खुला भएको आइपिओको बाँडफाँड बिहिबार भएको हो।
युनियन लाइफको आइपिओको बाँडफाँड बिहिबार साँझ गरिएको कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ।
कम्पनीले रु ६४ करोड ५० लाख बराबरको आइपिओ निष्काशन तथा बिक्री खुला गरेको थियो। कम्पनीको जारी पुँजीको ३० प्रतिशत शेयर जारी गरिएको थियो । हाल कम्पनीको जारी पुँजी रु दुई अर्ब १५ करोड बराबर रहेको छ ।
कम्पनीले प्रतिकित्ता र एक सय अङ्कित दरका ६५ लाख ५० हजार कित्ता साधारण शेयर बिक्री खुला गरेकोमा तीन लाख २२ हजार ५०० कित्ता कर्मचारीको लागि र तीन लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो । बाँकी रहेको ५८ लाख पाँच हजार कित्ता सर्वसाधारणको लागि निष्काशन गरिएको थियो ।
युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओका लागि अन्तिम दिनसम्ममा २१ लाख ७२ हजार ८ सय ६८ जना आवेदकबाट ३ करोड ४३ लाख ६१ हजार ८ सय २० कित्ताको लागि आवेदन परेको थियो ।
त्यसमध्ये २१ लाख १२ हजार ७ सय ९९ आवेदक योग्य ठहरिएका थिए। योग्य आवेदन मध्ये ५ लाख ८० हजार ५ सय जनाले न्युनतम १० कित्ता शेयर पाएका छन्।
कम्पनीको आइपिओ बाँडफाँटको नतिजा प्रभु क्यापिटलकाे वेवसाइट https://results.prabhucapital.com/, सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np/, युनियन लाइफ इन्स्योरेन्सको वेवसाइट https://iporesult.unionlife.com.np बाट हेर्न सकिनेछ। नतिजा प्रभु क्यापिटलकाे वेवसाइट https://results.prabhucapital.com/ मा उपलब्ध भैसकेको छ।