काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा (एमाले) ले विश्वासको मत नदिने भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित बैठकमा देउवालाई विश्वासको मत नदिने निर्णय गरिएको हो । त्यस्तै बैठकले नेकपा एमाले एकता कार्यदल भंग गरेको छ।
बैठकमा सहभागी नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदलमा रहेका नेताहरुले गृहकार्य गरेर मात्रै स्थायी कमिटीको बैठक राख्न आग्रह गरेका थिए।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित बैठकका बीचमा पार्टीका उपाध्यक्ष डा भीमबहादुर रावलसहितका नेताहरु प्रवेश गरी सहमतिमा बैठक राख्न माग गरेर बाहिरिएका थिए । डा रावलले शीर्ष तहमा छलफल र परामर्शमा बैठक चलाउन गर्न माग गरिएको जानकारी दिए।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने बैठकका नियमित कार्यसूची अघि बढाउन महासचिव ईश्वर पोखरेललाई निर्देशन दिए । गत असार २७ गते एमालेको कार्यदलमा आन्तरिक विवाद मिलाउन १० बुँदे सहमति भए पनि कार्यान्वयनमा आएको छैन ।