ब्यालोन डो’ओर जित्ने चर्चा चलेपछि जोर्गीन्होले भने – ‘मैले जति उपाधि कसैले पनि जितेको छैन’

एजेन्सी – सन् २०२१ इटालीका जोर्गीन्होका लागि धेरै नै सफल सावित भएको छ। सन् २०२१ को सातौँ महिना चलिरहँदा जोर्गीन्होले महत्वपूर्ण दुई उपाधि जितिसकेका छन्।

इटालीले युरोपियन च्याम्पियनशिप जित्दा मात्र होइन चेल्सीले च्याम्पियन्स लिग जित्दा समेत दुवै टोलीका महत्वपूर्ण हिस्सा थिए। इटालीले युरोपियन च्याम्पियनशिप जितेसँगै उनी युरोपका डबल च्याम्पियन बन्न सफल भएका थिए। युरोपका दुई सबै भन्दा ठूला उपाधि जितेपछि जोर्गीन्होको नाम एकाएक ब्यालोन डो’ओर दौडमा अगाडी आएको छ।

ब्यालोन डो’ओर दौडमा एकाएक नाम आएपछि जोर्गीन्होले यस वर्ष आफूले जति कुनै पनि खेलाडीले नजितेको बताएका छन्। उनी आफैं पनि आफू ब्यालोन डो’ओर दौडमा रहेको मान्छन् भने ब्यालोन डो’ओर जित्ने ठूलो सपना रहेको बताउँछन्।

उनी प्रतिभाको मामलामा आफूलाई विश्वकै उत्कृष्ट भन्ने चाहिं ठान्दैनन्। तर, उपाधिको मामलामा भने आफूले अन्य खेलाडीहरु भन्दा धेरै र महत्वपूर्ण उपाधि जितेको उनको भनाई छ।

चेल्सीको आधिकारी वेबसाइटसँग कुराकानी गर्दै जोर्गीन्होले भनेका छन्,”यदि हामी प्रतिभाको कुरा गरिरहेछौं भने मलाई थाहा छ म संसारमा सबैभन्दा उत्कृष्ट खेलाडी होइन। तर उपाधिको कुरा गर्ने हो भने, मैले जति उपाधि कुनै पनि खेलाडीले यस सिजन जितेको छैन।”

त्यस्तै उनले आफूलाई लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोसंग तुलना गर्न नहुने पनि बताएका छन्। मेस्सी-रोनाल्डो-नेयमार र आफू बीच धेरै अन्तर रहेको उनले बताए।

“म आफूलाई कसरी मेस्सी, नेयमार वा क्रिस्टियानो रोनाल्डोसँग तुलना गर्न सक्छु? मेस्सी र रोनाल्डोसंग छुट्टै गुणहरू छन्।”,कुराकानीका क्रममा जोर्गीन्होले भनेका छन्।

प्रकाशित : शुक्रबार, साउन ०१, २०७८१८:०७

मेस्सी र रोनाल्डो पछि कसले जितेको छ सबै भन्दा धेरै ब्यालोन डी’ओर ? हेर्नुहोस् शिर्ष १० को सूची !